You are currently viewing साहित्य–संस्कृतिका पहरेदार भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित

साहित्य–संस्कृतिका पहरेदार भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित

अछामको ऐतिहासिक भूमिमा जन्मिएर सम्पूर्ण सुदूरपश्चिमलाई गौरवान्वित बनाउँदै आउनुभएका डा. देबेन्द्रप्रसाद भट्ट नेपाली साहित्य, संस्कृति, धार्मिक र शिक्षाका एक बहुआयामी प्रतिभा हुनुहुन्छ। २०४० साल साउन १४ गते घुघुरकोट–१, कुमैस्थान अछाममा राधादेवी र हर्षप्रसाद भट्टको कोखबाट जन्मनुभएका भट्ट हाल सुदूरपश्चिमाञ्चल क्याम्पस, धनगढीमा नेपाली भाषा तथा साहित्यका प्राध्यापक हुनुहुन्छ।

उहाँको शैक्षिक उपलब्धि विद्यावारिधिसम्म पुगेको छ भने शिक्षा क्षेत्रमा दुई दशकभन्दा बढीको समर्पण रहेको छ। उहाँले ‘परिस्थिति’ कविता संग्रह(२०५९) ‘तिनतन्त्र’ उपन्यास(२०६४), ‘द्रष्टा दृष्टि’ समालोचना कृति(२०७२०), ‘सिद्धगुफा तथा कालालेकी महात्म्य’(२०७८) अध्ययनसम्म विविध विधामा कलम चलाउनुभएको छ। विद्यावारिधि अनुसन्धानको रुपमा ‘अछामको होरी’ (२०७९)नेपाली लोकजीवनमाथिको एक महत्वपूर्ण दस्तावेज हो। विभिन्न शैक्षिक क्षेत्रमा योगदान पुर्याउनु भएको उहाँ हाल सुदूरपश्चिमाञ्चल क्याम्पससम्म अध्यापनरत हुनुहुन्छ ।

बिएड,बि.ए. र एम.एड तहका निर्देशकका रूपमा रहनु भएका उहाँले विभिन्न तहका पाठ्यपुस्तक लेखनमा पनि उत्तिकै योगदान दिँदै ‘सामाजिक तथा मनोभाषाविज्ञान’, ‘भाषिक अनुसन्धान पद्धति’, ‘साधारण नेपाली’ आदि कृतिहरू प्रकाशनमा ल्याइसक्नुभएको छ। साहित्यिक पत्रिका ‘नौलो पाइलो’, ‘महामाया’, ‘सौराई’का सम्पादकको हैसियतले उहाँले युवा लेखकहरूको मार्गदर्शन गर्नुका साथै विभिन्न लेख, आलोचना र अनुसन्धानमा पनि उत्तिकै क्रियाशीलता देखाउनु भएको छ। डा. भट्ट केवल शिक्षण र लेखनमै सीमित छैनन्, उनी धार्मिक कार्यक्रमहरूमा भागवत सप्ताहदेखि नवाह सञ्चालन, टेलिभिजन तथा रेडियो कार्यक्रम सञ्चालनमा समेत सक्रिय छन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उहाँलाई सावित्री कमल राष्ट्रिय लोकसंस्कृति पुरस्कार, नेपाल विद्याभूषण ‘क’, सहिद दशरथ चन्द स्मृति सम्मान, देवनागरी सम्मान (उत्तराखण्ड भारत), व्यासाचार्य आदि उपाधिले विभूषित गरिसकेको छ। उहाँ आजका सन्दर्भमा एउटा प्रेरक व्यक्तित्वका रूपमा उदाउँदै आउनु भएको छ— जसले नेपाली लोकसंस्कृति, साहित्य र शिक्षालाई एकैसाथ उचो बनाउँदै ल्याएका छन्। पश्चिम नेपालका मौलिक संस्कृति र पूर्वीय दर्शनप्रति समर्पित यो व्यक्तित्व, आजका पुस्ताका लागि आदर्शको जीवित उदाहरण बन्न सफल भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply