असोज ६,धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सिद्धार्थ हस्पिटालिटि समूहले आफ्नो सेवा विस्तार गर्दै भव्य आतिथ्य संरचना सञ्चालनमा ल्याएको छ। सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै घटस्थापनाको दिनदेखि औपचारिक रूपमा सेवा प्रारम्भ गरिएको समूहले जनाएको छ।

करिब ३० रोपनी क्षेत्रफलमा फैलिएको यस संरचनामा एकैपटक २ हजार ५०० जनासम्मलाई सेवा दिन सक्ने क्षमता रहेको छ। यसभित्र लक्सरी होटल र रेष्टुरेन्ट, स्वीमिङ पूल, वाटर फन पार्क, बैंक्वेट हल, क्याफे, सम्मेलन हल तथा विभिन्न आधुनिक मनोरञ्जनात्मक सुविधा उपलब्ध हुनेछन्।

यस किसिमको सम्पूर्ण सेवासहितको आतिथ्य संरचना धनगढीमा पहिलोपटक सुरु गरिएको समूहले दाबी गरेको छ।

समूहका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपानेका अनुसार, “सुदूरपश्चिम प्रदेशमा पर्यटन र आतिथ्य व्यवसायलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले धनगढीमा यो परियोजना ल्याइएको हो। यो संरचना केवल होटल वा रेष्टुरेन्ट मात्र नभई स्थानीय तथा बाह्य पर्यटकलाई समेट्ने बहुआयामिक मनोरञ्जन केन्द्र बन्नेछ।

” सन् २०५४ सालदेखि आतिथ्य व्यवसायमा क्रियाशील सिद्धार्थ समूहले यसअघि बुटवल, पोखरा, चितवन लगायतका प्रमुख शहरमा होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएको छ। समूहले आफ्नो अनुभव र गुणस्तरीय सेवाको निरन्तरता मार्फत धनगढीमा पनि उच्चस्तरीय आतिथ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ।

क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपाने भन्छन धनगढीबाट भारतका विभिन्न ठूला शहरहरु नजिक रहेकाले भारतिय पर्यटकहरुलाई लक्षित गरेर पनि आफूहरु योजनाबद्ध तरिकाले सेवा विस्तार गर्दै अगाडि बढिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?