आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा हुने तय भएर स्थगित भएको नेपाल, ओमान र यूएईबीचको शृंखला आउँदो अप्रिल २५ देखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रेस विज्ञप्ति जारी गर्दै शृंखलाको खेलतालिका सार्वजनिक गरेको हो । नेपाल, ओमान र यूएईसँगको शृंखला अप्रिल २५ देखि मे ५ सम्म हुनेछ ।

यस्तै उक्त शृंखला सकिएको अर्को सातामै फेरि नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय शृंखला सुरु हुनेछ । उक्त शृंखला मे १२ देखि २२ सम्म चल्नेछ ।

यसअघि नेपाल, ओमान र यूएईबीच हुने भनिएको शृंखला पश्चिम एसियाको संकटका कारण स्थगित भएको थियो । ८ टोली सम्मिलित लिग २ मा हाल नेपालले २० खेलमा १२ अंक जोड्दै सातौं स्थानमा छ । यूएईको २० खेलमा १० अंक छ । ओमानको २२ खेलमा २७ अंक छ ।

अमेरिका २४ खेलमा ३६ अंक जोडेर शीर्षस्थानमा छ भने स्कटल्यान्ड २६ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा छ । नेदरल्यान्ड्सको २४ खेलमा २८ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?