नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा अहिलेसम्म सबैभन्दा विकेट हरमित सिंहले लिएका छन्। जनकपुर बोल्ट्सबाट खेलिरहेका सिंहले ६ खेलमा ११ विकेट लिएका छन्। यसका लागि उनले १३७ रन खर्चिएका छन्। उनको इकोनमी ५.८२ रहेको छ।
उनलाई चितवन राइनोजका रिजन ढकालले पछ्याइरहेका छन्। ढकालले चार खेलमा १० विकेट लिएका छन्। उनको इकोनमी ६.७५ रहेको छ। त्यसपछि तीन खेलाडीले समान नौ विकेट लिएका छन्। चितवन राइनोजका कमलसिंह ऐरीले चार खेलमा नौ विकेट लिएका छन्। उनको इकोनमी ५.८० रहेको छ।

नौ विकेट लिने अर्को खेलाडी जनकपुर बोल्ट्सका राहुल यादव हुन्। उनले ६ खेलमा ६.९५ को इकोनमी राख्दै नौ विकेट लिएका हुन्। तेस्रो खेलाडीमा कर्णाली याक्सका सोमपाल कामी छन्। उनले पाँच खेलमा ८.८२ को इकोनामी राख्दै नौ विकेट लिएका हुन्।
त्यसपछि चार खेलाडीले समान आठ विकेट लिएका छन्। लुम्बिनी लायन्सका शेर मल्ल, सुदूरपश्चिममा अनिल खरेल, काठमाडौं गोर्खाजका जहानदाद खान र सुदूरपश्चिमका स्कट कुगेलजिन छन्। सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दशौं नम्बर जनकपुरका मोइन अली छन्। उनले चार खेलमा सात विकेट लिएका छन्। उनको इकोनमी ४.८५ रहेको छ।
सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा लोकश बम शीर्षस्थानमा छन्। उनले पाँच खेलमा दुई अर्धशतकको मद्दतले १९४ रन बनाएका छन्। एनपीएलमा लिग चरणका अब सात खेल मात्रै बाँकी छन्। अहिलेसम्म २१ खेल भइसकेका छन्। बिहीबार विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्। यो खेल मध्याह्न साढे १२ बजे सुरु हुनेछ।