३० असार,२०८३ : सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबिच देखिएको विवाद समाधानका लागि काठमाडौँमा संवाद जारी छ।
बजेट पारित गर्न अब दुई दिन मात्र बाँकी रहँदा मुख्यमन्त्री कमलबहादुर शाहले बुधबारसम्म निकास निस्कने विश्वास व्यक्त गरेका छन्। बजेट विवाद समाधानका लागि सोमबार पार्टी नेतृत्वको आह्वानमा काठमाडौँ पुगेका मुख्यमन्त्री शाहले मङ्गलवार रातोपाटीसँग कुरा गर्दै एमाले र कांग्रेसका शीर्ष नेताबिच दिनभर सकारात्मक छलफल भएको जानकारी दिए।

यता नेपाली कांग्रेस भने हालकै बजेट पारित गर्नुपर्ने पक्षमा छ। बजेट विवाद चर्किएपछि कांग्रेस सभापति गगनकुमार थापाले सोमबार मुख्यमन्त्री शाहसँग काठमाडौँमा भेट गर्दै एमालेसँग थप संवाद र परामर्श गरेर सहमतिका आधारमा अघि बढ्न सुझाव दिएका थिए। गठबन्धनको मर्मअनुसार विवादलाई संवादमार्फत समाधान गर्नुपर्ने उनको धारणा थियो।
बजेट सार्वजनिक भएको दिनदेखि नै सत्ता गठबन्धनभित्र देखिएको मतभेद अझै औपचारिक रूपमा टुङ्गो लागिसकेको छैन। यद्यपि पछिल्ला दुई दिनदेखि शीर्ष तहमा भइरहेको निरन्तर संवादपछि समाधानतर्फ सकारात्मक वातावरण बनेको मुख्यमन्त्री शाहको दाबी छ। प्रदेश सरकारका लागि असार ३२ गतेभित्र बजेट पारित गर्नु संवैधानिक बाध्यता हो। तोकिएको समयभित्र बजेट पारित हुन नसके नयाँ आर्थिक वर्षदेखि विकास निर्माण, सेवा प्रवाह तथा सरकारी खर्च सञ्चालन प्रभावित हुने जोखिम रहेको छ। त्यसैले सत्ता साझेदार दलहरू अन्तिम घडीसम्म सहमति जुटाउने प्रयासमा जुटेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?