२८भाद्र,धनगढीः कञ्चनपुरमा निषेधाज्ञा जारी भए पनि यातायातका साधन भने सञ्चालनमा आएका छन् । यहाँस्थित यातायात व्यवसायीहरूले निषेधाज्ञाबिच शनिबार बिहानदेखि यातायातका साधन सञ्चालनमा ल्याएका हुन् ।
महेन्द्रनगर बसपार्कमा रहेको टिकट काउन्टर भने बन्द नै रहेको छ । काउन्टर नखुले पनि साना तथा ठुला सवारी साधनहरू सञ्चालनमा ल्याइएको यहाँका व्यवसायीहरूले बताएका छन् । लगातार तीन दिन यातायात ठप्प हुँदा जिल्लामा यात्रुहरू अलपत्र परेकाले सवारी साधन सञ्चालन गर्नुपरेको उनीहरूको भनाइ छ ।

यात्रुहरूको मागअनुसार यातायातका साधन सञ्चालनमा ल्याइएको बस व्यवसायीका पदाधिकारीहरूको भनाइ छ । महाकाली यातायात व्यवसायी सङ्घका अध्यक्ष डम्बर पन्तले जिल्लामा केही मात्रामा यातायातका साधनहरू सञ्चालनमा आएको बताए । प्रशासनले निषेधाज्ञा जारी गरे पनि यहाँका बस व्यवसायी, ट्याम्पो व्यवसायी, अटो व्यवसायीहरूले सवारी साधन सञ्चालनमा ल्याएको उनले बताए ।
काउन्टर नखुल्दा यातायात व्यवसायीहरूले मनलाग्दी भाडा असुलिरहेको यात्रुको गुनासो छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शनिबार साँझ ७ बजेसम्म जिल्लामा निषेधाज्ञा जारी रहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले देशमा विद्यमान परिस्थितिको आँकलन गरी शनिबार साँझसम्म निषेधाज्ञा जारी रहेको बताए । यसबिचमा यातायात सञ्चालनमा ल्याउन नहुने प्रमुख जिल्ला अधिकारी ढकालले बताए । सञ्चालनमा आएका यातायातले घरबाट अथवा टिकट काटेर नै यात्रुहरूलाई नबोलाउन उनले आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?