सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा धनगढीको फाप्लामा जारी प्रदेश स्तरीय प्रधानमन्त्रीकप एकदिवसिय छनोट प्रतियोगीतामा कञ्चनपुरले ह्याट्रिक जीत दर्ता गरेको छ । यो जीतसँगै समूह विजेता बन्दै कञ्चनपुर फाइनल प्रवेश गरेको छ । अब कञ्चनपुरले समूह बी को विजेतासँग फाइनल खेल्नेछ । सनिबार सम्पन्न खेलमा डोटी विरुद्ध १ विकेटको शनसनीपूर्ण जीत निकालेपछि जारी छनोट प्रतियोगीतामा ह्याट्रिक जीत पूरा गरेको हो । कञ्चनपुरले पहिलो खेलमा अछाम विरुद्ध १०८ रनको जीत हाँसिल गरेको थियो भने दोश्रो खेलमा कैलाली विरुद्ध १०३ रनको जीत निकालेको थियो । नियमित कप्तान हेमन्त धामी घाइते भएपछि सनिबार किरण कुमार ठगुन्नाले कञ्चनपुरको कप्तानी सम्हालेका थिए ।

सनिबार डोटीले दिएको १५१ रनको लक्ष्य कञ्चनपुरले २५.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । कञ्चनपुरको जीतमा आजपनि कप्तान किरण कुमार ठगुन्ना नायक बने । कप्तान ठगुन्नाले ब्याटिङतर्फ ५२ रनको अर्धशतकिय पारी खेलेभने बलिङ एक विकेट चट्काए । ठगुन्ना खेलको म्यान अफ दी म्याच पनि चुनिए । त्यस्तै मिलन बोहरा र अभिषेक थापाले समान १७ रन तथा राहुल भण्डारी र प्रकाश पाण्डेयले समान १३ रनको योगदान दिए ।
डोटीका लागि सौर्य श्रेष्ठले ३ तथा पारस महत र आयुष द्वारियाले समान दुई दुई तथा कप्तान भोजराज भट्टले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको डोटीले खराब मौसमका कारण ४५ ओभरमा छोट्याएको खेलमा ३७.४ ओभरमा सबै विकेट गुमाउँदै १५० रन बनायो । उस्का लागि खगेन्द्र जोशीले सर्वाधिक ३९ रनको पारी खेले । ४२ बलको सामना गरेका उनले ४ चौका र १ छक्का प्रहार गरे । कैलाश भुलले अविजित १९ रन बनाउँदा डबल ऐरले १७ रनको पारी खेले ।
कञ्चनपुरका लागि प्रकाश विस्टले सर्वाधिक ३ विकेट लिए । किरन चन्दले २ विकेट लिए भने कप्तान किरण कुमार ठगुन्ना,अरुण,ऐरी,विकास आग्री,राहुल भण्डारी र मिलन बोहराको नाममा समान एक एक विकेट रह्यो ।
आइतबार समूह बी अन्तर्गतको पहिलो खेलमा बैतडी र बझाङ्ग भिड्नेछन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?