You are currently viewing कांग्रेस तत्काल फुट्दैन: सभापति बलायर

कांग्रेस तत्काल फुट्दैन: सभापति बलायर

धनगढी, ६ जेठ / नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति विरबहादुर बलायरले कांग्रेस तत्काल फुट्ने सम्भावना नरहेको बताएका छन् । पार्टीको वृहत् एकता र पुनर्जागरणका लागि प्रदेश समितिले आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सभापति बलायरले विशेष महाधिवेशनमार्फत नेतृत्वमा आएका नेताहरूले सबैलाई समेट्नुपर्ने बताए । त्यसो हुँदा पार्टी नफुट्ने उनको दाबी थियो ।

‘अहिले पनि ठूलो ताकत सानेपाभन्दा बाहिर छ । सानेपा र बाहिर रहेको यो शक्ति एकै ठाउँमा जानुपर्छ । त्यसका लागि गगन थापाले समाधानको बाटो दिनुपर्छ,’ उनले भने, ‘तत्काल पार्टी फुट्दैन । अहिलेको नेतृत्वले सबैलाई समेट्न सक्नुपर्छ ।’

१४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा अन्य नेताहरूलाई अपमानपूर्ण व्यवहार गर्न नहुने उनले भनाइ थियो । ‘हिजोका पदाधिकारीलाई स्थापित गर्न हामीले भनेका छैनौँ । हिजो नेतृत्व गरेका नेताहरूको मानमर्दन गरिनु हुँदैन,’ उनले भने, ‘१५औँ महाधिवेशनको सुनिश्चितताका लागि हाम्रो एकता आवश्यक छ ।’ कानुनी रुपमा गगन थापा पार्टी सभापति भएपनि भावनात्मक रुपमा सबैको सभापति बन्न नसकिरहेको उनको तर्फ थियो ।

‘नियमित अधिवेशन र विशेष अधिवेशनपछि कांग्रेसको नेतृत्व स्थापना भयो । त्यो नेतृत्वप्रति असहमति हुँदा हुँदै पनि अदालत र निर्वाचनले आधिकारिकता दिएपछि हामीले त्यो निर्णय आत्मसात गरेका छौँ,’ उनले भने, ‘कानुनी रूपमा आत्मसात गरे पनि कांग्रेस अहिले एक ठाउँमा छैन ।

सभापति बलायरले देउवा समूहले काठमाडौंमा खोलेको सम्पर्क कार्यालयलाई फुटको रूपमा लिन नहुने बताए । १० गतेको कार्यक्रमले सुदूरपश्चिम प्रदेशबाट कांग्रेसको रणनीतिक ‘मुभ’ कस्तो हुने भन्नेबारे निष्कर्ष आउने संकेत उनले गरे ।

आफूहरू एकताको पक्षमा रहेको तर अहिलेको नेतृत्वबाट एकताको सन्देश नआइरहेको सभापति बलायरले स्पष्ट पारे । कांग्रेसलाई विभाजन गर्ने मनसाय निवर्तमान सभापति शेरबहादुर देउवाको पनि नरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply