चुरे गाउँपालिका क्षेत्रको सामाजिक, शैक्षिक, स्वास्थ्य, वातावरणीय तथा खेलकुद विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएका गणेश देउवा यतिबेला एक सक्रिय सामाजिक अभियन्ताका रूपमा परिचित छन्। “चुरे बनाउनु पर्छ” भन्ने स्पष्ट सोचका साथ उनी बसर युवा क्लब मार्फत् दीर्घकालीन विकास अभियानमा निरन्तर क्रियाशील छन्।

देउवाले स्वास्थ्य, शिक्षा, पर्यटन र खेलकुदलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। हरेक वर्ष आफ्नो जन्मदिनको अवसरमा सामाजिक कार्य गर्दै मानव सेवा आश्रममा पुगेर सेवा गर्ने, चुरे क्षेत्रका विद्यालयका विद्यार्थीहरूलाई कापी, कलम र झोला वितरण गर्ने तथा सार्वजनिक स्थानमा डस्टबिन राखी वातावरण संरक्षणमा टेवा पुर्याउने कार्य उनले नियमित रूपमा गर्दै आएका छन्।
शिक्षा तथा खेलकुदमा उल्लेखनीय योगदान
साविक निगाली गाविसकै समयदेखि देउवा र उनको क्लब खेलकुद विकासमा सक्रिय रहँदै आएका छन्। २०७२ सालमा क्रिकेट प्रतियोगिता आयोजना गरी सुरु भएको यात्रा आज प्रदेश तथा राष्ट्रिय स्तरसम्म पुगेको छ। ‘वडा अध्यक्ष कप भलिबल प्रतियोगिता’, ‘चुरे गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता’ हुँदै प्रदेश स्तरीय ‘चुरे कप २०८०’ सम्मका प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न गरिएका छन्।
उनकै नेतृत्वमा पहिलो पटक चुरेमा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना भएको थियो। साथै खुला फुटबल प्रतियोगिता, कर्पोरेट स्तरको पेनाल्टी शुट-आउट र फुटसल प्रतियोगिता सञ्चालन गर्दै खेलकुद क्षेत्रलाई चलायमान बनाइएको छ।
खेलाडीहरूलाई आवश्यक खेल सामग्री वितरण, राष्ट्रिय स्तरमा पुगेका खेलाडीलाई सम्मान तथा विद्यालयस्तरमै खेलकुद र शैक्षिक सामग्री सहयोग कार्यक्रम सञ्चालन गरिँदै आएको छ।
प्राप्त उपलब्धिहरूमा:
-
पुरुष भलिबल अध्यक्ष वडा कप २०७८ – तृतीय
-
पुरुष भलिबल अध्यक्ष वडा कप २०८० – द्वितीय
-
महिला भलिबल अध्यक्ष वडा कप २०८० – प्रथम
-
प्रदेश स्तरीय भलिबल प्रतियोगिता ‘चुरे कप’ २०८० – द्वितीय
-
बडिकेदार गोल्ड कप २०८२ – प्रथम
-
जिल्ला स्तरीय फुटबल प्रतियोगिता – Fair Play Award
स्वास्थ्य र वातावरण संरक्षणमा सक्रियता
जिल्ला सदरमुकामभन्दा टाढा रहेको चुरे क्षेत्रमा पहिलो पटक विशेषज्ञ स्वास्थ्यकर्मीसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी करिब १,२०० जनालाई प्रत्यक्ष सेवा प्रदान गरिएको थियो। शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ, आँखा, दाँत, सुगर परीक्षण लगायतका सेवा प्रदान गरिएको थियो।
छुवाछुत र छाउपडी प्रथा उन्मूलनका लागि महिला लक्षित निःशुल्क सेनिटरी प्याड वितरण गरिएको थियो भने विकट गाउँमा उत्कृष्ट सेवा दिने स्वास्थ्य चौकी र स्वास्थ्यकर्मीलाई सम्मानसमेत गरिएको थियो।
वातावरण संरक्षणअन्तर्गत सार्वजनिक स्थानमा डस्टबिन वितरण तथा बृहत् वृक्षरोपण कार्यक्रममार्फत १,५०० भन्दा बढी बिरुवा रोपिएका छन्। सरसफाइ अभियान सञ्चालन गर्दै स्वच्छ र स्वस्थ वातावरण निर्माणमा विशेष जोड दिइएको छ।
कला, पर्यटन र कृषिमा प्रवर्द्धन
चुरेलाई कृषि र पर्यटनका लागि उर्वर भूमि मान्दै देउवा र उनको टोलीले पर्यटन प्रवर्द्धनमा विशेष पहल गरेका छन्। चुरे गाउँपालिकाका ६ वटै वडाका प्रमुख पर्यटकीय स्थलमा स्थलगत कार्यक्रम सञ्चालन गरिएको छ।
पर्यटन प्रवर्द्धनका लागि धनगढीदेखि गोदावरीसम्म ‘साइकल यात्रा’ आयोजना गरी चुरेका पर्यटकीय सम्भावनाहरू उजागर गरिएको थियो। विभिन्न स्थानीय तथा राष्ट्रिय कार्यक्रममा चुरेको पर्यटन क्षेत्रका तस्बिरसहित मायाको चिनो प्रदान गर्दै प्रचार–प्रसारमा योगदान पुर्याइएको छ।
स्थानीय कला–संस्कृति जगेर्नाका लागि सांस्कृतिक कार्यक्रम तथा चाडपर्वमा मौलिक भेषभूषा प्रदर्शन गर्दै समुदायमा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने कार्यसमेत हुँदै आएको छ।
सामाजिक उत्तरदायित्व, खेलकुद विकास, स्वास्थ्य सेवा विस्तार, वातावरण संरक्षण तथा पर्यटन प्रवर्द्धनजस्ता बहुआयामिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका गणेश देउवा र बसर युवा क्लब चुरे क्षेत्रका लागि प्रेरणादायी उदाहरण बनेका छन्। स्थानीय स्रोत र सम्भावनालाई परिचालन गर्दै समुदायलाई संगठित बनाउने उनको अभियानले चुरेको समग्र विकासमा सकारात्मक ऊर्जा थपेको छ।
यदि यस्ता अभियानहरू निरन्तरता र संस्थागत सहयोगका साथ अघि बढाइए, चुरे क्षेत्रलाई समृद्ध, सचेत र आत्मनिर्भर बनाउने लक्ष्य अवश्य पूरा हुने देखिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?