कैलालीमा जापानिज इन्सेफलाइटिस संक्रमण, एक जनाको मृत्यु

४भाद्र,२०८२ः कैलालीमा जापानिज इन्सेफलाइटिस (जे.ई.) को संक्रमण देखिएको छ। हालसम्म ४ जनामा यो रोग पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।

संक्रमितमध्ये एक जनाको मृत्यु भएको छ भने अन्य ३ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। जिल्ला स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मिन बहादुर धामीका अनुसार, संक्रमितमध्ये एक जनाको सेती प्रादेशिक अस्पताल धनगढी, अर्को जनाको निसर्ग अस्पताल धनगढी र तेस्रो बिरामीको नेपालगञ्ज स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

धामीका अनुसार जापानिज इन्सेफलाइटिस एक गम्भीर भाइरल रोग हो जुन लामखुट्टेको टोकाइबाट सर्छ। यो रोग प्रायः १५ वर्षमुनिका बालबालिकामा बढी देखिन्छ र मुख्य रूपमा साउनदेखि कार्तिक महिनासम्म फैलिने सम्भावना बढी हुन्छ। यो भाइरस संक्रमित चराचुरुङ्गी (जस्तै हाँस, कुखुरा) वा जनावरहरू (जस्तै सुँगुर) बाट लामखुट्टे मार्फत मानिसमा सर्छ। संक्रमित जनावरलाई टोकेको लामखुट्टे मानिसलाई टोकेमा संक्रमण सर्न सक्छ। तर, यो रोग मानिसबाट मानिसमा सर्दैन।
जापानिज इन्सेफलाइटिसका लक्षणहरूमा उच्च ज्वरो, टाउको दुख्ने, बेहोस हुने, घाटि कडा हुने, कम्पन आउने, तथा पक्षघातसम्मका समस्या देखिन सक्छन्। समयमा उपचार नभए यो रोगले ज्यानै जाने जोखिम पनि रहन्छ। स्वास्थ्य कार्यालयले यो रोगबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, बालबालिकालाई १२ महिनाको उमेरमा जे.ई. खोप अनिवार्य रूपमा लगाउन र खोप छुटेका बालबालिकालाई ५ वर्षको उमेरसम्म खोप लगाउन सकिने जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top