You are currently viewing कैलालीमा डाक्टर गोविन्द केसीले गरे पुनः२३ औं सत्याग्रह सुरू

कैलालीमा डाक्टर गोविन्द केसीले गरे पुनः२३ औं सत्याग्रह सुरू

१५ भाद्र,२०८२ः चिकित्सा शिक्षा सुधार अभियन्ता डाक्टर गोविन्द केसी पुनः सत्याग्रहमा उत्रिएका छन्।
निजि मेडिकल कलेजमा सिट वृद्धिलाई सरकारले स्वीकृति दिएको विरोधमा उनी आज भदौ १५ गतेदेखि तीन दिनको सत्याग्रह सुरु गरेका हुन्। डाक्टर केसीले कैलालीमा पत्रकार सम्मेलनमार्फत विज्ञप्ति जारी गर्दै सरकार र सम्बन्धित निकायहरूलाई कठोर शब्दमा आलोचना गरेका छन्। उनका अनुसार, चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा गुणस्तर कायम गर्नुपर्ने ठाउँमा सरकार उल्टै निजी मेडिकल कलेजहरूको दबाबमा परेर अनावश्यक सिट वृद्धि गर्दै भ्रष्टाचारलाई प्रश्रय दिइरहेको छ।
डाक्टर केसीले प्रेस विज्ञप्तिमा लेखेका छन् “प्रधानमन्त्री केपी शर्मा ओली नजिक रहेका माफियाहरूको प्रभावमा सरकारले गुणस्तरीय शिक्षा भन्दा पनि निजी मेडिकल कलेजलाई फाइदा पु¥याउने निर्णय गरेको छ।“ उनले यस्तो निर्णयले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ खतरामा पार्ने बताएका छन्। “निजि कलेजहरूले विगतदेखि नै महँगो शुल्क असुल्दै आएका छन्। सिट संख्या बढ्दा गुणस्तर खस्किन्छ, स्वास्थ्य सेवा झन् महँगो हुन्छ,“ उनले भने।
डाक्टर केसीका अनुसार, नेपालमा सरकारी स्वास्थ्य संस्थाहरूमा आवश्यकताअनुसार पर्याप्त डाक्टर, जनशक्ति र स्रोत साधन छैनन्। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अभावमा हजारौं नागरिक उपचार नपाएर मर्न बाध्य छन्। तर, उल्टै निजी मेडिकल कलेजलाई विद्यार्थी भर्ना र शुल्क निर्धारणमा छुट दिइँदा स्वास्थ्य सेवा अझ असमान र महँगो बन्दै गएको उनको भनाइ छ।
डाक्टर केसीले सरकारले विगतमा गरिएका सम्झौता कार्यान्वयन नगरेको र शिक्षा–स्वास्थ्यमा देखिएको माफियाकरण अन्त्य नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। “म आज भदौ १५ गते आइतबारदेखि तीन दिनको सत्याग्रह सुरु गरेको घोषणा गर्दछु,“ उनले विज्ञप्तिमा भनेका छन्। डाक्टर केसीले यसअघि पनि निजी मेडिकल कलेजका विरुद्ध पटक–पटक सत्याग्रह, आमरण अनशन गरी सरकारलाई दबाब दिएका थिए।
उनको आन्दोलनकै परिणामस्वरूप चिकित्सा शिक्षा ऐन, मेडिकल कलेज शुल्क निर्धारण, सीट संख्या व्यवस्थापनजस्ता निर्णयहरू सरकारले गर्न बाध्य भएको थियो। तर, ती निर्णयलाई कार्यान्वयन गर्ने सट्टा फेरि माफियाको स्वार्थमा विपरीत निर्णय भएको उनको गुनासो छ।
२३ औं सत्याग्रहका लागि डाक्टर केसीले कैलालीको गेटा अस्पताललाई रोजेका छन्।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न र पूर्ण क्षमतामा अस्पताल चलाउन दबाब दिन गेटालाई सत्याग्रह गर्ने स्थान छनोट गरिएको उनले बताएका छन्। उनले गेटमा शैक्षिक कार्यक्रम र अस्पताल २०८४ भित्रै चलाउनुपर्ने बताएका छन्। यदि चलाइएन भने २०८४ पछि फेरि पाँच वर्ष सरकारले काम नगर्ने डाक्टर केसीको जिकिर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply