कैलाली जिल्लास्तरीय यु १६ फुटबल प्रतियोगीता : युथ अफ टिकापुरको शानदार सुरुवात

बद्री कुन्ता मेमोरियल यु१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगीतामा युथ अफ टिकापुरले शानदार सुरुवात गरेको छ । धनगढी रंगशालामा शुक्रबार सम्पन्न उद्घाटन खेलमा टिकापुरले कैलारी गाउँपालिकाको न्यू युवा सुन्दर शक्ती क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

युथ अफ टिकापुरको जितमा कैलाश सुनार नायक बने । प्रतियोगीताको पहिलो ह्याट्रिक पूरा गर्ने क्रममा कैलाश एक्लैले ४ गोल प्रहार गरे । कैलाश खेलको म्यान अफ दी म्याच पनि चुनिए । उनले पहिलो हाफको ३१ औं र ३३ औं मिनेटमा गरी दुई गोल गरे भने दोश्रो हाफको ५४ औं र ५५ औं मिनेटमा थप दुई गोल गर्दै व्यक्तिगत ४ गोल पूरा गरेका हुन । यस्तै टिकापुरकै लागि रोमन चौधरीले खेलको ७२ औं थप १ गोल गरे ।

न्यू युवा सुन्दर शक्ती क्लबका लागि आदर्श चौधरीले २ गोल गरेपनि जितका लागि पर्याप्त भएन । उनले पहिलो हाफको २५ औं मिनेटमै पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए तर त्यो अग्रता धेरैबेर टिक्न सकेन । युथ अफ टिकापुरका कैलाश सुनारले खेलको ३१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा फर्काए,लगत्तै कैलाशले ३३ औं मिनेटमा पुनः गोल गर्दै टिकापुरलाई २ – १ को अग्रतामा पुर्याए ।


दोश्रो हाफको तेश्रो मिनेट अर्थात खेलको ४८ औं मिनेटमा न्यू युवा सुन्दर शक्ती क्लबका लागि आदर्श चौधरीले व्यक्तिगत दोश्रो गोल गर्दै खेललाई पुनः बराबारीमा तुल्याए । त्यसपछि भने न्यू युवा सुन्दर शक्ती क्लबले गोल गर्न सकेन । खेलको ५४ औं मिनेटमा तेश्रो गोल गर्दै युथ अफ टिकापुरका कैलाश सुनारले ह्याट्कि पूरा गरे । थप एक गोल उनले एक मिनेट भित्रै अर्थात ५५ औं मिनेटमा गरे ।

प्रतियोगीताको दोश्रो खेलमा सनिबार भजनी युवा क्लब भजनीका विरुद्ध संघर्ष युवा क्लब गोदावरी खेल्दैछ भने तेश्रो खेलमा भोली नै बर्दगोरिया स्पोटर्स एण्ड इभेण्टसका विरुद्ध फारवेष्ट पशुपति युवा क्लबले प्रतिस्पर्धा गर्दैछ ।

यसअघि आजै कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लको अध्यक्षता तथा सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव लोक बहादुर खड्काको प्रमुख आतिथ्यतामा प्रतियोगीताको समुद्घाटन गरिएको छ ।

उद्घाटन सत्रमा अखिल नेपाल फुटबल संघका महासचिव किरण राई,कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्द,नेपाल क्रिकेट संघ क्यानका केन्द्रिय सदस्य बिक्रम बिष्ट,युवा परिषदका कार्यकारी उपाध्यक्ष गजेन्द्र साउँद,सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआजी ओम राना,कैलाली अस्पतालका अध्यक्ष जनक राज जोशी बद्री कुन्ता मेमोरियल ट्रष्टका अध्यक्ष कमला जोशी,संस्थापक सदस्य गोकर्ण जोशी,सुनिल सुवेदी लगायत दजनौं खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

कैलाली जिल्ला फुटबल संघको आयोजना र बद्री कुन्ता मेमोरियल ट्रष्टको मुख्य प्रायोजनमा सम्पन्न हुने उक्त फुटबल प्रतियोगीतामा कैलाली जिल्ला फुटबल संघमा दर्ता भएका कैलाली जिल्लाका १३ ओटै स्थानीय तहका क्लबहरुको सहभागिता रहनेछ । लिगकम नकआउट फम्र्याटमा खेलाइएको यो प्रतियोगीता यहि पौष २६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगीतामा पहिलोपटक जिल्लाको विकट क्षेत्र चुरे र मोहन्याल गाउँपालिकाको टिम पनि सहभागी हुँदैछ । यस्तै टिकापुर,लम्कीचुहा,भजनी,जानकी,जोशीपुर बर्दगोरिया,सुख्खड,गौरीगंगा,कैलारी,गोदावरी र धनगढीका गरी १३ टोलीले प्रतियोगीतामा सहभागिता जनाएका छन ।

प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,आकर्षक ट्रफी र मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १ लाख,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नुका साथै विधागत रुपमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले पनि नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगीताका निर्देशक हर्क दानपालीले जानकारी दिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top