You are currently viewing जेनजी आन्दोलनपछि स्थगित अदालत सेवा पुनः सुरु हुँदै

जेनजी आन्दोलनपछि स्थगित अदालत सेवा पुनः सुरु हुँदै

२९भाद्र,धनगढीः कैलाली जिल्ला अदालतले गत भदौ २४ गतेको देशव्यापी आन्दोलनका कारण स्थगित भएको सेवा भदौ २९ गतेदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेको छ।
अदालतले आज सूचना जारी गर्दै आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटका कारण प्रभावित सेवाबारे व्यवस्था मिलाइएको जनाएको छ। अदालतद्वारा जारी सूचनाअनुसार बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदन दर्ता, म्याद थप, जरुरी प्रकृतिका पुर्जीको स्वीकृति तथा पत्राचार अनुमतिसम्बन्धी कार्यहरू आज साउन २९ गतेदेखि सुचारु भएका छन्।


तर अदालतले अन्य नियमित कामकाज, मुद्दा दर्ता, नियमित तारिखका मुद्दा सुन्ने तथा अन्य कार्यहरू हाललाई स्थगित रहेको जनाएको छ। यसबारे अर्को सूचना पछि जारी गरिने अदालतले जनाएको छ। भदौ २४ गतेका लागि तोकिएका म्याद÷तारिखका मुद्दा फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५२ र दिवानी कार्यविधि संहिता, २०७४ को दफा २२५ बमोजिम, सर्वोच्च अदालतको अघिल्लो आदेशअनुसार ३० दिनभित्र पुनः तोकिएको म्याद÷तारिखमा हाजिर हुन सक्ने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ।


यसैगरी, नियमित सेवा सहज बनाउन आवश्यक व्यवस्था मिलाइने र समय–समयमा थप सूचना जारी गरिने अदालतले जनाएको छ। यसअघि आन्दोलनका क्रममा अदालतमा भएको क्षति र त्यसले सेवामा पारेको असरलाई मध्यनजर गर्दै अदालतको आकस्मिक पूर्ण बैठकले यस्तो निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply