धनगढी उपमहानगरपालिकाको उपमेयरमा दुई पटक उम्मेदवार बनेकी शान्ति अधिकारीले नेकपा माओवादी केन्द्र परित्याग गरेकी छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेकी छन्। २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट धनगढी उपमहानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएकी अधिकारी दुवै पटक पराजित भएकी थिइन्।

२०७४ सालको निर्वाचनमा उनी नेपाली कांग्रेसकी उम्मेदवार सुशीला मिश्र भट्टसँग पराजित भएकी थिइन्। उक्त निर्वाचनमा मिश्रले १७ हजार ४०८ मत प्राप्त गर्दा नेकपा एमालेकी रुक्मिणी देवकोटाले १२ हजार ७६३ र माओवादी केन्द्रकी अधिकारीले १० हजार २५२ मत पाएकी थिइन्।
त्यस्तै, २०७९ सालको स्थानीय तह निर्वाचनमा पनि उनी उपमेयर पदमा उम्मेदवार बनेकी थिइन्। उक्त निर्वाचनमा एमालेकी उम्मेदवार कन्दकला कुमारी रानाले १५ हजार ४७९ मत प्राप्त गरी विजयी हुँदा अधिकारीले १२ हजार ६७० मत प्राप्त गरेकी थिइन्।
करिबन ३३ वर्षदेखि शैक्षिक क्षेत्रमा निरन्तर खटिरहेकी अधिकारी एक कुशल व्यवस्थापकको रुपमा चिनिन्छन । उनको नेतृत्वमा एरिष्टो स्कुल नजिता र अतिरिक्त क्रियाकलपहरुमा सुदूरपश्चिम प्रदेशभरीमै लोकप्रिय छ ।
अहिले उनी रास्वपामा आबद्ध भएकी छन्। रास्वपाका सुदूरपश्चिम प्रदेश महामन्त्री सन्तोष जोशीले अधिकारीलाई पार्टीमा स्वागत गरेका हुन्। जोशीले अधिकारीलाई स्वागत गरेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।जोशीले पार्टीमा जोडिने नयाँ व्यक्तित्वहरूको ज्ञान, अनुभव, क्षमता र सामाजिक योगदानलाई राष्ट्र निर्माण तथा जनताको सेवामा उपयोग गर्ने बताएका छन्।