ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । आइतबार भएको खेलमा नेपाल यूएईसँग ७ विकेटले पराजित भएको हो ।नेपालले दिएको १५४ रनको लक्ष्य यूएईले ३४.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । कप्तान अयान मिसबाहले अविजित रहेर ७५ रन बनाए । यायिन राइले ३२ तथा अहमद खुदादले २४ रन बनाए ।नेपालका लागि सुशील रावल, कप्तान बिपिन शर्मा र निरज पटेलले १/ १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो ।नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रन बनाए । सचिन भट्टले ३२, दर्श सोनार र निरज यादवले १६, आशिष लुहारले ११ रन बनाए ।

यूएईका लागि नसीम खानले ५ विकेट लिए भने अयान मिसबाहले ३ विकेट र नूरउल्लाह अयोबीले २ विकेट लिए ।नेपाल पहिलो खेलमा भारतसँग पराजित भएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार पाकिस्तानसँग खेल्नेछ ।लगातार दुई हार व्यहोरेको नेपालको सेमिफाइनल सम्भावना भने लगभग समाप्त भएको छ ।