त्रिभुवन आर्मी क्लबसँग फाइनलमा पराजित भएपछि पीएम कपमा सुदूरपश्चिम प्रदेशले उपविजेतामा चित्त बुझाउनु परेको छ । शुक्रबार वीरगन्जमा सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै आर्मीले तेस्रोपटक पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४।३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । आर्मीका लागि इमरान शेखले अविजित ४६ रन बनाए भने बसिर अहमदले ४५ रन बनाए ।

५६ रनमा ४ विकेट गुमेको अवस्थाबाट आर्मीका लागि बसिर र इमरान मिलेर इनिङ सम्हालेका थिए । यी दुई मिलेर पाँचौं विकेटका लागि ९६ रनको साझेदारी गरे । सुदूरपश्चिमका लागि हेमन्त धामीले २ विकेट लिँदा शेर मल्ल,अशोक धामी र विकास आग्रीले १(१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले ३९।४ ओभरमा अलआउट हुँदै १६१ रन बनाएको थियो । शीर्षक्रम र मध्यक्रम ब्याटिङ धराशायी बनेपनि तल्लोक्रमका ब्याटरले संयमित ब्याटिङ गरेका थिए । अशोक धामीले सर्वाधिक ४३ रन बनाए भने किरण ठगुन्नाले २५ अनि नारायण जोशीले २९ रन बनाए । हेमन्त धामीले १६ रन बनाए ।आर्मीका आकाश चन्द र शाहब आलमले ३(३ विकेट लिए भने बसिर अहमदले २ अनि कुशल मल्लले १ विकेट लिए ।

आर्मी प्रतियोगिताभर कुनै खेलमा पराजित भएन । आर्मीेले लिग चरणका ९ मध्ये १ खेलमा अंक बाँडेको थियो भने बाँकी ८ वटै खेल जितेको थियो । सुदूरपश्चिमले भने ९ खेलमा ६ खेल जितेको थियो र पहिलोपटक फाइनल खेलेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?