पूर्वमुख्यमन्त्री कमल बहादुर शाहद्वारा मुख्यमन्त्रीसहित सबै मन्त्रीहरुको तत्काल राजीनामा माग

नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट र अर्थमन्त्री चक्र मल्लसहित सबै मन्त्रीको राजीनामा माग गरेका छन्।

बुधबार संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहले अर्थमन्त्री मल्लले प्रदेशसभामै बजेट गलत भएको स्वीकार गरेको भन्दै मुख्यमन्त्रीसहित सबै मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्।

‘सदनमै अर्थमन्त्रीले गलत बजेट आएको स्वीकार गर्नुभएको छ। बजेटमा बिचौलिया हाबी भएको स्वीकार गर्नुभएको छ। तत्काल मुख्यमन्त्रीसहित सबै मन्त्रीले राजीनामा दिनुपर्छ,’ शाहले भने ।

अर्थमन्त्री मल्लले प्रदेशसभामा बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा दिएको अभिव्यक्तिप्रति संकेत गर्दै शाहले नैतिकताका आधारमा पदबाट मार्गप्रशस्त गर्नुपर्ने बताए ।अर्थमन्त्री मल्लले ‘मैले दूध पोखरी बनाउन खोजेको थिएँ, पानी पोखरी बन्यो’ भन्ने अभिव्यक्ति उल्लेख गर्दै शाहले बजेट नै ठीक नभएको स्वीकार गरेपछि पदमा बसिरहन नमिल्ने तर्क गरे।

‘उहाँले रोस्ट्रममा उभिएर हामीले ल्याएको बजेट ठीक छैन भन्नुभयो। हामीले ल्याएको बजेट ठीक छैन भनेपछि नैतिक रूपमा उहाँले पद छोड्नु पर्दैन? राजीनामा दिनु पर्दैन?’ शाहले प्रश्न गरे।अर्थमन्त्री मल्लले बजेटमा बिचौलिया हाबी भएको स्वीकार गरेको भन्दै त्यसको नैतिक जिम्मेवारी लिनुपर्ने शाहको भनाइ छ। उनले बजेटसम्बन्धी विवादको निकास दिन मुख्यमन्त्रीसहित सबै मन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका हुन्।

आइतबार अर्थमन्त्री मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। बजेटमाथि चर्किएको विवादका बीच प्रतिपक्षी दलहरूको बहिष्कारका बाबजुद मंगलबार प्रदेशसभाबाट बजेट पारित भएको थियो।बजेट पारित भए पनि त्यसलाई लिएर राजनीतिक विवाद भने कायमै छ। निवर्तमान मुख्यमन्त्री शाहले बजेटमाथिको छलफलमा अर्थमन्त्रीले दिएको अभिव्यक्तिलाई आधार बनाउँदै सरकारको नेतृत्व र मन्त्रीहरूको नैतिक जिम्मेवारीमाथि प्रश्न उठाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top