प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा फोरजी सेवा सञ्चालन

बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा टुजी र फोरजी सेवा सञ्चालनमा आएको छ । टावर निर्माण तथा जडान कार्य सम्पन्न भएसँगै सोमबारदेखि नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय अत्तरियाका अनुसार बडीमालिकाको लौडीविनायकमा टावर निर्माण तथा जडान सम्पन्न भएपछि सेवा सुचारु गरिएको हो । टावर निर्माणमा खटिएका प्रादेशिक कार्यालयका इन्जिनियर सुदर्शन आचार्यले बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालनमा आएको जानकारी दिए ।

उनका अनुसार बडीमालिका मन्दिर क्षेत्र, त्रिवेणी पाटन, नाटेश्वरीलगायतका क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा उपलब्ध भएको छ । फोरजी सेवा सञ्चालनका लागि आवश्यक उपकरण साउन २६ गते हेलिकप्टरमार्फत त्रिवेणी पाटनसम्म ढुवानी गरिएको थियो । त्रिवेणी पाटनबाट भने उपकरण जडानस्थलसम्म बोकेरै पुर्‍याइएको थियो ।

यसअघि साउन दोस्रो साता सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन तथा इन्टरनेट सेवा पुर्‍याउन नेपाल टेलिकमलाई निर्देशन दिएका थिए । बडीमालिका मन्दिरमा भदौ १ गतेदेखि नै पूजा तथा मेला सुरु भइसकेको छ । मुख्य पूजा भदौ ११ गते हुने भए पनि एकैदिन अत्यधिक दर्शनार्थीको भीड हुने भएकाले १० दिनअघिदेखि नै पूजा सुरु गरिएको हो । प्रतिक्रिया

#Agralekh.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top