वैशाख १ धनगढी : युवा बलर युवराज खत्री चम्किएपछि घरेलु टोली नेपालले आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित दर्ता गरेको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा नेपालले ओमानविरुद्ध ९ विकेटले पराजित गर्यो । जितसँगै दुई खेलमा चार अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । दुवै खेलमा पराजित ओमान अंकविहिन छ । ओमानले प्रस्तुत गरेको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि निरजकुमार यादवले ४६, साहिल पटेलले ४३ र कप्तान नरेन भट्टले अविजित १२ र सन्तोष यादवले अविजित १० रन बनाए । पहिलो विकेटका लागि निरज र शाहिलले ८५ रनको साझेदारी गरेका थिए । ओमानका लागि दुवै विकेट सौम्यभविन सम्पतले लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३८ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनको योगफल तयार पारेको थियो । ओमानका लागि जीत व्रजेश शाहले ७८ बलमा ६ चौकको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी सिद्धार्थ सौम्य शंकरले १६ र प्रतिश हेमा रमेशले १० रन बनाए ।

नेपालका लागि युवराज खत्रीले सात ओभरमा दुई मेडनसहित १५ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । खत्री म्यान अफ दी म्याच पनि चुनिए । यसैगरी सन्तोष यादवले दुई तथा अपराजित पौडेल, अशोक धामी र दयानन्द मण्डलले समान एक विकेट लिए । पहिलो खेलमा नेपालले युएईलाई डववर्थ लुइस पद्धति ९डिएलएस० का आधारमा पाँच रनले पराजित गरेको थियो । ओमनले अफगानिस्तानसँग आठ विकेटको हार बेहोरेको थियो । अब नेपालले बुधबार हङकङको सामना गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?