काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले हराएको छ । पोखराले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १८ ओभर ३ बलमा १५४ रन बनाउँदा अलआउट भयो ।

कर्णालीका पवन सर्राफले ३१ बलमा २ छक्का र १ चौकासहित ३२, आरिफुल इस्लामले १३ बलमा २ छक्का र २ चौकासहित २४, दीपक डुम्रेले ७ बलमा ३ छक्का र १ चौकासहित २२ रन बनाए ।पोखराका मेहेदी हसनले ३, धनन्जय लक्सन र कुशल भुर्तेल र विपिन खत्रीले समान २ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको थियो । पोखराका युवराज सम्राले ४८ बलमा ६ छक्का र १० चौकासहित १०२ रनको शतकीय पारी खेले । यस्तै कुशल भुर्तेलले ३९ बलमा ७ छक्कासहित ६२ र कप्तान चमिका करुरत्नेले ११ बलमा ३ छक्का र ३ चौकासहित अविजित विस्फोटक ३५ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीले २ र मार्क वाटले १ विकेट लिए ।

लगातार ४ खेलमा पराजित पोखराको यो पहिलो जितसँगै अंक तालिकामा खाता खोलेको छ । पराजित कर्णाली ५ खेलमा ४ अंकसहित सातौँ स्थानमा झरेको छ । अब कर्णालीलाई प्लेअफ पुगन कठिनाइ हुने देखिन्छ । सोमबारै हुने दोस्रो खेलमा काठमाण्डु गोर्खाज र चितवन राईनोज खेल्दैछन् । यो बेलुका ५ बजेपछि सुरु हुनेछ ।