जेठ २३,धनगढी : धनगढी उपमहानगरपालिका वडा न ४ उत्तरबेहडीमा रहेको गुरुकुल एकेडेमीले बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवस २०२५ लाई लक्षित गर्दै गुरुकुलले बृहत सामुदायिक सरसफाई कार्यक्रम आयोजना गरेको हो ।
सरसफाई कार्यक्रममा विद्यार्थीहरुले विद्यालयको ५०० मिटर वरपरको भु–भागमा सरसफाई गर्नुका साथै पृथ्वी बचाउँ,स्वस्थ शहर हाम्रो रहर,वृक्षारोपण गरौं पानीका मुहान जोगाउँ,रुख रोपौं आश रोपौं,प्लाष्टिक प्रदुषण अन्तय गरौं लगायतका प्ले कार्ड प्रर्दशन बजार परिक्रमा गरेका थिए ।
सरसफाई कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा न ४ का वडाध्यक्ष बुद्धि बहादुर खड्का, धनगढी उपमहानगरपालिकाको सरसफाई टोली,विद्यालयका सम्पूर्ण कर्मचारी र सम्पूर्ण विद्यार्थीहरुको सकृय सहभागिता रहेको विद्यालयकी कार्यक्रम संयोजक सबिना स्वारले बताइन । उक्त सरसफाइ कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका वडा न ४ का वडाध्यक्ष बुद्धि बहादुर खड्काले उपमहानगरपालिकाको हाम्रो धनगढी सफा धनगढी,हाम्रो धनगढी हामी बनाउँछौं अभियानलाई सार्थक बनाउन विद्यालयहरुको भूमिका महत्वपूर्ण बताए । उनले पछिल्लो समय विद्यार्थीहरुमा सरसफाई सम्बन्धी राम्रो धारणाको विकास भएको भन्दै आफूलाई अत्यन्तै खुशी लागेको बताए ।
उपमहानगरपालिकाको हाम्रो धनगढी सफा धनगढी,हाम्रो धनगढी हामी बनाउँछौं अभियानलाई सार्थक बनाउन गुरुकुल एकेडेमी धनगढीले हरेक हप्ता फरक फरक कक्षाका विद्यार्थीहरुलाई सरसफाई अभियानमा सहभागी गराइरहेको र यो क्रम निरन्तर जारी रहने विद्यालयकी कार्यक्रम संयोजक सबिना स्वारले बताइन । २०५२ सालमा स्थापना भएको गुरुकुल एकेडेमी धनगढी शहरकै उत्कृष्ट विद्यालय भित्रमा पर्ने गर्दछ । कक्षा नर्सरीदेखि कक्षा १० सम्म पढाई हुने सो विद्यालयमा हाल एघार सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालय प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?