सातौँ संस्करणको खप्तड गोल्डकप पुस २१ देखि माघ १ गतेसम्म,विजेताले २१ लाख पाउने

सुदूरपश्चिमको प्रतिष्ठित फुटबल प्रतियोगिता खप्तड गोल्डकपको सातौँ संस्करण आगामी पुस २१ देखि धनगढीमा आयोजना हुने भएको छ। सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले पुस २१ देखि माघ १ गतेसम्म धनगढी रंगशालामा प्रतियोगिता सञ्चालन गर्न लागेको हो।

आयोजक क्लबले आइतबार प्रतियोगिताबारे जानकारी दिँदै अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा विदेशी टोलीसहित १० वटासम्म टोली सहभागी हुने जनाएको छ।

क्लबका महासचिव प्रकाश शाहीले सुदूरपश्चिममा फुटबलको विकास र प्रदेशको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। २०७३ सालदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगितालाई यस वर्ष थप व्यवस्थित र भव्य बनाउने तयारी भइरहेको उनले जानकारी दिए।

प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीलाई मोटरसाइकल वा स्कुटर प्रदान गरिनेछ। यस्तै, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार र प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ।

प्रतियोगिताले सुदूरपश्चिमका प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै युवामा फुटबलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ। खेल पर्यटन प्रवर्द्धन र प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक पहिचान स्थापित गर्न पनि प्रतियोगिताले योगदान पुर्‍याउने महासचिव शाहीले बताए।

प्रतियोगिता सफल बनाउन प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, उद्योगी–व्यवसायी, खेलकुदसम्बन्धी संघसंस्था तथा खेलप्रेमीको सहयोग आवश्यक रहेको क्लबका अध्यक्ष योगेन्द्र चन्दले बताए।

धनगढीमा आयोजना हुने प्रतियोगिताले सुदूरपश्चिमको फुटबल गतिविधिलाई थप चलायमान बनाउने आयोजकको विश्वास छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top