सुदूरपश्चिम प्रदेशका प्रमुख मियाँले एक महिनाको पारिश्रमिक बाढी पीडितलाई सहयोग गर्ने

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेका छन्।

प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीले बुधबार जारी गरेको विज्ञप्तिमा भदौ १० गते भोटेकोशी नदी र सोको तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ।बाढीमा परी मृत्यु भएका सम्पूर्ण व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता तथा हराइरहेका व्यक्तिहरू सकुशल फेला परून् भन्ने कामना गरिएको छ।

विज्ञप्तिमा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्बाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित व्यक्ति, परिवारजन र समुदायलाई यस विपद्को दूरगामी असर सामना गर्ने सामर्थ्य मिलोस् भन्ने कामना गरिएको छ।प्रदेश प्रमुख मियाँले उद्धार, राहत तथा पुनःस्थापनाको काममा निरन्तर खटिरहेका तीनै तहका सरकार, राजनीतिक दल, विभिन्न मित्रराष्ट्रबाट खटिएका टोली, सामाजिक संघसंस्था, निजी क्षेत्र, सुरक्षा निकायसहित सम्पूर्ण राष्ट्रसेवक तथा आम नागरिकलाई धन्यवाद दिएका छन्।

उनले विपद्को समयमा थप सहयोगका लागि सबैमा आह्वान गर्दै बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेका हुन्।

सुदूरपश्चिम प्रदेश सरकारले पनि भोटेकोशी बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top