धनगढी ८ क्याम्पस रोडमा रहेको एरिष्टो माध्यमिक विद्यालयले अत्याधुनिक फुटसल मैदान सञ्चालनमा ल्याएको छ। शुक्रबार विद्यालयकी प्रबन्ध निर्देशक शान्ति अधिकारीले फुटसलको उद्घाटन गरेकी हुन्। विद्यालयका प्रिन्सिपल हरि क्षेत्रीका विद्यार्थीहरूको मागलाई सम्बोधन गर्दै करिब ५० लाख रुपैयाँभन्दा बढीको लगानीमा फुटसल मैदान तयारी गरिएको हो। फुटसलको उचित सदुपयोग गर्दै विद्यालयस्तरबाटै उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको प्रिन्सिपल क्षेत्रीले बताए।

“फुटसलबाट उत्पादन हुने खेलाडीले आगामी दिनमा देश र समाजका लागि महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौँ,” प्रिन्सिपल क्षेत्रीले भने। उनले फुटसल निर्माणमा सहयोग गर्ने शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकप्रति धन्यवाद व्यक्त गरे।

उद्घाटन कार्यक्रममा विद्यालयकी प्रबन्धक निर्देशक शान्ति अधिकारी, प्रिन्सिपल हरि क्षेत्री, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा एमडी अधिकारी र प्रिन्सिपल क्षेत्रीले खेलाडीहरूका लागि फुटसलमा प्रयोग हुने आवश्यक खेल सामग्रीसमेत हस्तान्तरण गरेका थिए।उद्घाटन समारोहमा बोल्दै अधिकारीले एरिष्टो माध्यमिक विद्यालयबाट उत्पादन भएका खेलाडीलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गराउँदै विद्यालयको नाम उच्च राख्ने लक्ष्य रहेको बताइन्। विद्यालयले शिक्षा क्षेत्रसँगै खेलकुदको विकासलाई पनि प्राथमिकतामा राखेर अघि बढ्ने उनको भनाइ थियो।

तीन दशक भन्दा अधिक समयदेखि सञ्चालनमा रहेको एरिष्टो माध्यमिक विद्यालय सुदूरपश्चिम प्रदेशकै अंग्रेणी शैक्षिक संस्थाको रुपमा परिचित छ । कक्षा नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुने सो विद्यालयमा २ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन भने एक सय भन्दा बढी कर्मचारी कार्यरत छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?