You are currently viewing बैतडीको डिलाशैनी भगवती मन्दिरमा ताका जात्राः अनन्त डोरो बाँध्ने चलन

बैतडीको डिलाशैनी भगवती मन्दिरमा ताका जात्राः अनन्त डोरो बाँध्ने चलन

२१ भाद्र,धनगढीः बैतडीको पुर्चौंडी नगरपालिका–८ मल्लादेहीस्थित प्रसिद्ध डिलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा ताका जात्रा लागेको छ । भाद्र शुक्ल द्वादशीबाट शुरु भएको जात्रा भाद्र शुक्ल पूर्णिमाको बिहान सम्म रहने मन्दिरका पूजारी हरिशचन्द्र भट्टले बताए ।
स्थानीय भाषामा ‘ताका जात’भनिने यो जात्रामा टाढाटाढाबाट दर्शनार्थीहरु आउने गरेको पूजारी भट्टले बताए । आज दिउँसो भगवतीको पूजाआजा गरेपछि अनन्त डोरो बाँध्ने चलन रही आएको छ । भगवतीको प्रसादको रुपमा डोरो बाँध्ने चलन रही आएको उनले बताए ।
अनन्त डोरोले रोगब्याधी र अन्य कष्टबाट बचाउने जनविश्वास रही आएको पूजारी भट्टले बताए । बिशेष मन्त्रद्वारा अभिमन्त्रित डोरोलाई महिला तथा पुरुष दर्शनार्थीहरुले नाडीमा बाँध्ने गरेका छन् । उनले भने ‘अनन्त डोरो अनन्त भगवानको प्रसादको रुपमा ग्रहण गर्ने चलन रही आएको छ । अनन्त डोरो बाँधेमा रोगब्याधी,दुखकष्ट हट्ने जनविश्वास रही आएको छ ।’


यस्तै अनन्त चतुर्दशीका अवसरमा डिलाशैनी भगवतीमा गौरा भित्र्याउने चलन समेत रही आएको छ । भदौको महिना मनाइने गौरामा महिला ब्रतालुहरुले गौरा भित्र्याउने चलन रही आएको भएपनि अनन्त चतुर्दशीको दिन पुरुषहरुले गौरा भित्र्याउने चलन रही आएको पूजारी भट्टले बताए ।


डिलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने ‘ताका जात’पूर्णिमाको बिहान पूजाआजापछि समापन हुने गर्दछ । भाद्र शुक्ल द्वादशीका दिन भण्डार घरबाट ल्याएको भण्डारलाई पूर्णिमाको दिन फेरि भण्डार घरमै पुर्याउने चलन रही आएको छ ।
मल्लादेहीस्थित डिलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीका साथै असोजको नवरात्री, कार्तिक शुक्ल पक्ष र चैते नवरात्रीमा जात्रा हुने गरेको छ । अन्य बेलाको जात्रामा बलि हुने भएपनि अनन्त चतुर्दशीको जात्रामा बलि नहुने पूजारी भट्टले बताए । यस्तै पुर्चौंडीको तल्लादेहीस्थित डिलाशैनी भगवती मन्दिरमा पनि अनन्त चतुर्दशीको अवसरमा जात्रा लाग्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply