प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि घोषित सुदूरपश्चिम प्रदेश क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ ।शनिबार आयोजित कार्यक्रममा टोलीको मुख्य प्रायोजक एसपीए कलेजका प्रबन्ध निर्देशक सुवास शाही, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशी र टोलीका कप्तान शेर मल्लले संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय टोलीका सदस्यसमेत रहेका मल्लको कप्तानीमा रहेको सुदूरपश्चिमको टोलीलाई यसै सिजनदेखि ३ वर्षसम्मका लागि धनगढीस्थित एसपीए कलेजले मुख्य प्रायोजन गरेको छ । कार्यक्रममा प्रबन्ध निर्देशक शाहीले टोलीलाई शुभकामना व्यक्त गर्दै प्रदेशलाई च्याम्पियन बनाउने लक्ष्यका साथ अघि बढ्न आग्रह गरे ।
उनले टोलीलाई व्यवसायिक रूपमा अघि बढाउने उद्देश्यले कर्पोरेट क्षेत्रसँग सहकार्य विस्तार गर्ने प्रयास भइरहेको जानकारी दिए । प्रादेशिक क्रिकेट संघका अध्यक्ष जोशीले एसपीए कलेजको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै उक्त विश्वासलाई मैदानमा उत्कृष्ट प्रदर्शनमार्फत प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गरे । अनुभवी र युवा खेलाडीको संयोजनले टोली सन्तुलित रहेको उल्लेख गर्दै कप्तान मल्लले शीर्ष चारमा स्थान बनाउने लक्ष्यसहित टोली वीरगंज प्रस्थान गर्ने बताए ।

उनले प्रायोजन सहयोगले टोलीको मनोबल समेत उच्च बनाएको बताए । टोलीमा कप्तान मल्लसहित उपकप्तन किरण ठगुन्ना, खडक बोहरा, दिपक बोहरा, हेमन्त धामी, विकास आग्री, अभिषेक पाल, प्रकाश पाण्डेय, मिलन बोहरा, नरेन भट्ट, लोकेन्द्र चन्द, सौर्य श्रेष्ठ, नारायण जोशी, राजु रिजाल र अशोक धामी समावेश छन् । अर्जुन बिक,भोजराज भट्ट,टेक रावत र सचिन भट्ट वैकल्पिक खेलाडीको सूचिमा रहेका छन । सुदूरपश्चिम प्रदेशले वीरगंगजको नारायणी क्रिकेट मैदानमा यहि चैत्र ९ गते कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्दै प्रतियोगीताको सुरुवात गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?