नेपाली काँग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाहले पार्टीभित्रको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै अब उपरान्त सक्रिय रूपमा राजनीति नगर्ने तथा तटस्थ बस्ने घोषणा गरेका छन्।
आज बिहान उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस यस्तो छ :
आज म अत्यन्तै गम्भीर एवं भावुक हुँदै मेरा लागि यो अविश्वसनीय र अकल्पनीय निर्णय लिन बाध्य भएको छु । किनभने मेरो परिवार नेपाली काँग्रेस सँग झन्डै ८ दशक भन्दा लामो समय देखि जोडिएको कारणले पनि म अहिलेको अवस्थामा निकै मर्माहत र दुखी समेत बन्न पुगेको छु । मेरा हजुरबुबा स्व. लोकेन्द्र बहादुर शाह ( पुर्व जिल्ला पार्टी सभापति एवं २०१५ सालका यस निर्वाचन क्षेत्रका साँसद) तत्पश्चात बुबाज्यु स्व. मोहन बहादुर शाह (पुर्व जिल्ला पार्टी सभापति एवं पुर्व जिविसका सभापति) र तेस्रोपुस्ताको म स्वयं दुई कार्यकाल यस जिल्लाको पार्टी सभापति बनेर अहिले निवर्तमान हुदै वर्तमान समयमा सुप प्रदेश कार्य समितिको महामन्त्रीको जिम्मेवारी वहन गरिरहेको इतिहास साक्षी छ ।तर मलाई मुलुकको वर्तमान राजनीतिमा हाम्रो पार्टीका जिम्मेवार नेतृत्वकर्ताहरुले खेलीरहेको आवश्यक अथवा अनावश्यक भुमिका प्रति मेरो पुर्णतः असन्तुष्टि रहेको छ । यो संवेदनशील जटिलतम चुनौतीपूर्ण परिस्थितिमा सिंगो नेपाली काँग्रेस एकजुटताका साथ एकमुष्ट भएर नउभिदाँसम्म मैले नितान्त भारी मनले विचार गरे कि अब उपरान्त म पार्टीको कुनैपनि औपचारिक वा अनौपचारिक कार्यक्रमहरुमा स्वयंले सहभागिता नजनाउने निर्णय लिन म अहिले विवश भएको छु ।आगामी दिनहरुमा म सम्भवतः दलगत राजनीति भन्दा टाढानै रहने प्रयास गर्नेछु । यदि, दुर्भाग्यवश पार्टी यसैबीच विभाजन तर्फ जान्छ भने त म जस्ता तमाम राष्ट्रियता लोकतन्त्र र समाजवाद प्रति आस्थावान एवं चार तारे झन्डामुनी अन्धविश्वासी भइ लागेका साथीहरूको संगठन प्रतिको निष्ठा मर्म एवं भावना माथी निर्मम तरिकाले ठूलो आघात पुग्ने निश्चित छ । तसर्थ, सरोकारवाला सम्बन्धित सबैमा मेरो दुई हात जोडी विनम्रतापुर्वक बिन्ती छ कि यो स्थापित विरासत माथी कुनैकसैले पनि खेलवाड गर्ने प्रयत्न नगरिदिनु होला । यहासम्म आइपुग्दा म लगायत मेरो परिवारजनको लामो राजनीतिक यात्रामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्दै आउनु भएका समस्त महानुभावहरु प्रति हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछु । जसकसैलाई जस्तोसुकै लागेता पनि अब उपरान्त म विशुद्ध नेपाली काँग्रेस भएर मात्र बाच्न चाहन्छु र अन्तिममा यो विषयलाई कसैले पनि अन्यथा नलिइदिनु होला भन्ने समेत सादर अनुरोध गर्दछु ।मैले सदैव मनको संयमता, धैर्यता र विचलनता सँग हाँसीखेली आइरहेको मानिसलाई निर्वाचनले खासै त्यस्तो हतोत्साहित हुनेगरी प्रभाव पारेको छैन । यि सबै विषयवस्तुलाई मैले नजिकैबाट आत्मसात गर्दै आइरहेको कारणले पनि कृपया यो कुरालाई प्रतिनिधिसभा निर्वाचनको परिणाम सँग पनि तुलना नगरी दिनु होला भन्ने आग्रह छ ।यहाँहरु सबैको जीवन सुखमय रहोस् !!जय नेपाल !!
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?