काठमाडौं, २०८३ वैशाख ५– सुदूरपश्चिम प्रदेशको शैक्षिक क्षेत्रमा संस्थागत विद्यालयतर्फ विशिष्ट पहिचान बनाइसकेको धनगढीस्थित एरिष्टो इङ्लिस बोर्डिङ स्कुलले राष्ट्रिय गणित क्विज प्रतियोगितामा देशभरीमै तेस्रो स्थान हासिल गरेको छ।

काउन्सिल फर म्याथमेटिक्स एजुकेशन (MEC) को आयोजनामा काठमाडौंमा सम्पन्न ‘राष्ट्रिय माध्यमिक तह (९–१०) गणित हाजिरीजवाफ प्रतियोगिता–२०२६’ मा एरिष्टोले सुदूरपश्चिमको सफल प्रतिनिधित्व गर्दै यो गौरवपूर्ण सफलता चुमेको हो।

नगर, जिल्ला र प्रदेश स्तरमा प्रथम हुँदै राष्ट्रिय छनोटमा परेका देशभरिका उत्कृष्ट १५ विद्यालयहरूबीच अन्तिम प्रतिस्पर्धा भएको थियो। विभिन्न सात चरणहरू पार गर्दै एरिष्टोले काठमाडौंका प्रतिष्ठित विद्यालयहरूलाई समेत पछि पार्दै शीर्ष तीनमा आफ्नो स्थान सुरक्षित गर्यो।
प्रतियोगिताको अन्तिम नतिजा यस प्रकार रहेको छ:
* प्रथम: मदरल्याण्ड सेकेन्डरी स्कुल, पोखरा (गण्डकी प्रदेश)
* द्वितीय: बूढानीलकण्ठ स्कुल, काठमाडौं (बागमती प्रदेश)
* तृतीय: एरिष्टो इङ्लिस बोर्डिङ स्कुल, धनगढी (सुदूरपश्चिम प्रदेश)
मेधावी विद्यार्थी र कुशल नेतृत्व
एरिष्टोको तर्फबाट कक्षा १० का विद्यार्थीहरू आदर्श लम्साल र विधि भण्डारी तथा कक्षा ९ का समीर धामीले प्रतियोगितामा भाग लिएका थिए। विद्यार्थीहरूको यो बौद्धिक कौशललाई निखार्न विद्यालयका गणित शिक्षक तेजराज कापडीले विशेष मार्गदर्शकको भूमिका प्रदान गरेका थिए ।

शिक्षक कापडीको नेतृत्वदायी भूमिकामा यसअघि पनि एरिष्टोले सुदूरपश्चिम तथा लुम्बनी प्रदेशको कोहलपुर लगायतका क्षेत्रमा भएका थुप्रै हाजिरीजवाफ प्रतियोगीतामा उपाधि जितिसकेको छ ।

शिक्षक कापडीको अथक मिहिनेत र विद्यार्थीहरूको उच्च आत्मविश्वासकै कारण आज एरिष्टोको नाम राष्ट्रिय स्तरमा गुञ्जिएको विद्यालय प्रशासनले जनाएको छ। प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई पदक, ट्रफी र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। सुदूरपश्चिम प्रदेशबाट छानिएर राष्ट्रिय स्तरको फाइनल राउण्डमा पुगी पदक जित्नुले यस क्षेत्रको शैक्षिक गुणस्तर राष्ट्रिय स्तरमै प्रतिस्पर्धी रहेको प्रमाणित गरेको छ। यस सफलताले एरिष्टो परिवार, अभिभावक र सम्पूर्ण सुदूरपश्चिमवासीमा हर्षोल्लास छाएको विद्यालयका प्रधानाध्यापक हरी क्षेत्रीले बताए ।

प्रधानाध्यापक क्षेत्रीले एरिष्टो बोल्ने भन्दापनि गरेर देखाउने संस्था भएकाले आगामी दिनमा पनि यस्तै उत्कृष्ट शैक्षिक अभियानलाई निरन्तरता दिने बताएका हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?