असार १०,धनगढी : डोटीको सुजङ बोर्डिङ्ग स्कुल राष्ट्रिय स्कुल क्रिकेट च्याम्पियनसिप अन्तर्गत सुदूरपश्चिम प्रदेश स्तरीय छनोट प्रतियोगीताको उपविजेता बनेको छ । धनगढको फाप्ला मैदानमा बुधबार सम्पन्न फाइनलमा कैलालीको विद्याभुषण पब्लिक स्कुलसँग १२६ रनले पराजित भएपछि सुजङ बोर्डिङ्ग स्कुल उपाधि जित्नबाट बञ्चित भएको हो । पराजित भएसँगै सुजङ बोर्डिङ्ग स्कुलले आउँदो असार २० गते काठमाण्डौंमा आयोजना हुने राष्ट्रिय स्कुल क्रिकेट च्याम्पियनसिपमा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने ठूलो अवसर गुमाएको छ ।

विद्याभुषण पब्लिक स्कुलले दिएको २०१ रनको विशाल लक्ष्य पछ्याएको सुजङ बोर्डिङ्ग स्कुल १३.४ ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमा समेटियो । लिग चरणमा डडेल्धुरा र बैतडीलाई पराजित गर्दै समूह बीको विजेता बनेको सुजङले फाइनलमा भने सोचेजस्तो प्रर्दशन गर्न सकेन ।

खेलपछि प्रतिक्रिया दिदै सुजङ बोर्डिङ्ग स्कुलका प्रशिक्षक गोविन्द्र चरण विरुवाले लगातारको खेल र अत्याधिक गर्मिका कारण पनि आफ्ना खेलाडीहरुले सोचेअनुरुपको प्रर्दशन गर्न नसकेको बताए ।

नजिता सुजङ बोर्डिङ्ग स्कुलका पक्षमा नआएपनि अत्यन्तै अनुशाशित क्रिकेट खेलेको भन्दै दर्शक र आयोजकले टोलीको प्रशंसा गरेका थिए ।

कुशल व्यवस्थापन र उत्कृष्ट नजिताका कारण डोटीमा लामो विरासत बोकेको सुजङ बोर्डिङ्ग स्कुल सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा परिचित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?