काठमाडौं । नेपालमा पहिलोपटक आयोजना भइरहेको पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल भलिबल लिग (एनभिएल) मा आज सुदूरपश्चिमको प्रतिनिधित्व गरिरहेको खप्तड फाल्कन्सले आफ्नो पहिलो खेल खेल्दैछ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ७ बजे हुने खेलमा खप्तड फाल्कन्सले सगरमाथा स्म्यासर्सको सामना गर्नेछ। लिगको पहिलो खेलमै सगरमाथाले मधेश वारियर्सलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ।त्यसैले पहिलो खेलमै खप्तडका लागि चुनौती कम हुने छैन। सगरमाथाले उद्घाटन खेलमा पाकिस्तानी खेलाडीको प्रभावशाली प्रदर्शनका साथ तीन अंक जोडिसकेको छ । उसका अइमल खान प्लेयर अफ द म्याच बनेका थिए।

तर सुदूरपश्चिमको टोली खप्तड फाल्कन्स पनि बलियो तयारीसहित मैदानमा उत्रिँदैछ। फाल्कन्सले तीन विदेशी खेलाडीसहित पछिल्लो समय विभिन्न चरणमा अभ्यास गरिसकेको छ । विदेशी खेलाडीको नेपाली खेलाडीसँग राम्रो तालमेल हुन सके खप्तडले उत्कृष्ट प्रर्दशन गर्ने मुख्य प्रशिक्षक रुपेश बिष्ट बताउँछन ।
टोलीको मार्की खेलाडीमा धिरजकाजी बस्नेत छन् भने मुख्य प्रशिक्षकको जिम्मेवारी रुपेशकुमार विष्टले सम्हालेका छन्।
खप्तडले विदेशी खेलाडीका रूपमा ब्राजिल, रुस र बेनिनबाट खेलाडी भित्र्याएको छ। बेनिनका स्पाइकर बोस्को डेटे र रुसका स्पाइकर अर्टेम किसेलेभ नेपाल आइसकेका छन् भने ब्राजिलका एक सेटर पनि टोलीमा छन्। तीन फरक महादेशबाट खेलाडी ल्याएको खप्तडले अन्तर्राष्ट्रिय अनुभवलाई आफ्नो बलियो पक्षका रूपमा प्रयोग गर्ने अपेक्षा गरिएको छ।
उता सगरमाथाको नेतृत्व राष्ट्रिय टोलीका कप्तान हरिहजुर थापाले गर्नेछन् भने टोलीको प्रशिक्षण उत्सव खड्काले सम्हालेका छन्। सगरमाथाले पाकिस्तानका अइमल खान, फखर वाट्टो र फैजन उल्लाहलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।
एनभिएलको पहिलो संस्करणमा ६ टोली सहभागी छन्। लिग चरणमा टोलीहरूले एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। लिगको शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच प्लेअफ हुनेछ।

सुदूरपश्चिमको भलिबललाई राष्ट्रिय फ्रेन्चाइज मञ्चमा नयाँ पहिचान दिने लक्ष्य बोकेको खप्तडका लागि आजको खेल केवल प्रतियोगिताको सुरुवात मात्र नभई आफ्नो क्षमता प्रमाणित गर्ने महत्वपूर्ण अवसर पनि हो । अब सबैको नजर त्रिपुरेश्वर कभर्डहलमा रहेको छ ।के खप्तड फाल्कन्सले डेब्यु खेलमै सगरमाथाको उचाइ नाप्न सक्ला त्यो भने हेर्न बाँकी छ ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?