आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल र ओमानसँग हुने शृङ्खलाका लागि क्यानडाले १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीको कप्तानी ३६ वर्षीय हम्जा तारिकले गर्नेछन् भने श्रेयस मोभ्भा उपकप्तान छन् । दुई पूर्वकप्तान साद बिन जफर र निकोलस किर्टन भने टोलीमा समेटिएका छैनन् ।

हम्जा तारिकले ७ वर्षपछि क्यानडाको एकदिवसिय टोलीमा पुनरागमन गर्न लागेका हुन् । उनले सन् २०११ मा अफगानिस्तानविरुद्ध ओडीआई डेब्यू गरेका थिए भने पछिल्लोपटक सन् २०१४ मा नेदरल्यान्ड्सविरुद्ध ओडीआई खेलेका थिए ।
क्यानडाको टोलीमा हम्जासँगै श्रेयस मोभ्भा, युवराज समरा, आरोन जोन्सन, समित गोहिल, आदित्य वरदराजन, हर्ष ठाकर, अजयवीर हुन्डल, अखिल कुमार, सुखजिन्दर सिंह, शील पटेल, कलीम साना, जाहिद शिरजाद, शिवम शर्मा र दिलराज देओल रहेका छन् ।

नेपाल सम्मेलित यो शृङ्खला तीनै टोलीका लागि लिग–२ अंकतालिकाको दृष्टिले महत्त्वपूर्ण हुनेछ । हाल अंकतालिकामा ओमान २८ खेलमा ३१ अंकका साथ चौथो स्थानमा छ । क्यानडा ३२ खेलमा २५ अंकसहित छैटौं तथा नेपाल ३२ खेलमा २४ अंकसहित सातौं स्थानमा छ । त्रीदिशिय यो श्रृखला आगामी अक्टोबर ९ बाट ओमानमा सुरु हुँदैछ । नेपालले पहिलो खेल ११ अक्टोबरमा क्यानडा विरुद्ध खेल्नेछ ।