२१ श्रावण,२०८२ : सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आज ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएराति पनि प्रदेशका कयौं स्थानमा अविरल पानी परेको थियो भने आज दिउँसो र राति अझै व्यापक वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभएको छ।
हाल पनि प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। विशेषगरी डोटी, डडेल्धुरा, बाजुरा, बैतडी लगायतका पहाडी जिल्लामा वर्षा अधिक हुने अनुमान गरिएको छ। यस्तो अवस्थामा बाढी, पहिरो तथा सडक अवरोध हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
यस्तै, कोशी प्रदेशको एक दुई स्थानमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको छ भने लुम्बिनी, कर्णाली र कोशी प्रदेशका पहाडी भागमा समेत मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

रातिको समयमा देशभर सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। सुदूरपश्चिमका केही स्थानमा राति पनि मध्यम वर्षा हुन सक्ने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षाकर्मी तथा सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?