६ भाद्र,२०८२ : अन्तिम ओभरमा सम्हालिन नसक्दा पाकिस्तान शाहीन्ससँग नेपाल १ रनले पराजित भएको छ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग पराजित भएको हो । यस हारसँगै नेपालको यात्रा लिग चरणमै समाप्त भएको छ । सुरुवातका तीन खेलमा लगातार हार व्यहोरेको नेपालले त्यसपछि भने लगातार दुई खेलमा जित दर्ता गरेको थियो । नेपाल सन २०२४ को टि२० विश्वकपमा दक्षिण अफ्रिकासँग पनि १ रनले पराजित भएको थियो ।

पाकिस्तानले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४३ रन मात्र बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन तथा दिपेन्द्रसिंह ऐरीले अविजित ४१ रन बनाएपनि पर्याप्त हुन सकेन ।

सुस्त सुरुवात गरेको भएपनि रोहित र दिपेन्द्र मिलेर नेपाललाई राम्रो अवस्थामा पुर्याएका थिए । अन्तिम ओभरमा ८ रन आवश्यक रहँदा नेपालले ६ रन मात्र जोड्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो ।

पाकिस्तानका लागि कप्तान मोहम्मद इरफान खान नियाजीले अविजित ४२ रन बनाए । पाकिस्तान ७९/७ को संघर्षपूर्ण अवस्थामा रहेपनि इरफानले कप्तानी पारी खेले ।नेपालका लागि सोमपाल कामीले ४ ओभरमा ३० रन दिएर ३ विकेट लिए । नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले २/२ विकेट लिँदा कुशल भुर्तेलले १ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?