जेठ २१,धनगढी: आइसिसी विश्वकप लिग–२ को एकदिवसीय सिरिजमा नेदरल्याण्ड्स माथि नेपालले ५ विकेटको शानदार जीत निकालेको छ । नेदरल्याण्ड्सले दिएको २ सय २६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जीतमा मध्यक्रमका ब्याटर आरिफ शेख नायक बने । उनले ९० बलको सामना गरेका उनले ७ चौका र २ छक्काको मद्दतले सर्वाधिक ७८ रन बनाए । एकदिवसिय क्रिकेटमा आरिफको यो उच्चतम स्कोर हो ।
मंगलबार सम्पन्न खेलमा स्कटल्याण्डमाथि १ विकेटको रोमाञ्चक जीत निकालेको नेपालले दोश्रो खेलमा नेदरल्याण्ड्स विरुद्ध ५ विकेटको हानदार जीत निकाल्यो । अघिल्लो खेलको तुलनामा आज नेपालले निकै सुधारिएको खेल प्रर्दशन गर्यो ।

नेदरल्याण्ड्सवविरुद्ध उपकप्तान दीपेन्द्र सिंह ऐरीले अविजित ३८, कुशल भुर्तेलले २५, कप्तान रोहित पौडेलले २३, आसिफ शेखले १९, भीम सार्की र गुल्शन झाले ११–११ रनको योगदान दिए । उनीहरूमध्ये गुलशन अविजित रहे । नेदरल्याण्ड्सका लागि माइकल लेभिटले १० ओभरमा ४३ रन दिएर सर्वाधिक दुई विकेट लिए ।

त्यसअघि स्कटल्याण्डको फोर्थहिल मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २२५ रनमा अलआउट भयो । उसका लागि नोहा क्रसले ४८, कप्तान स्कट एडवाड्सले ४६, विक्रमजित सिंहले ३८, ज्याक लायन–क्याचेटले २७, रोएलफ भ्यान डेर मेर्वेले २१ र तेजा निदामानरुले १३ रन जोडे । नेपालका लागि बलिङमा सोमपाल कामीले उत्कृष्ट बलिङ गरे । उनले ९.१ ओभरमा ४८ रन दिएर सर्वाधिक तीन विकेट लिए । सोमपालले अघिल्लो खेलमा १० ओभरमा ६६ रन दिएर २ विकेट लिएका थिए ।

यस्तै, नेदरल्याण्ड्सविरुद्ध अर्का फास्ट बलर करण केसीले १० ओभरमा ३५ रन दिएर महत्वपूर्ण २ विकेट हात पारे । उनले जारी श्रृंखलाको पहिलो खेलमा पनि २ विकेट लिएका थिए । यस्तै, नेदरल्याण्ड्सविरुद्ध सन्दीप लामिछानेले १० ओभरमा ४८ रन दिएर २ विकेट लिए ।उनले पहिलो खेलमा ४४ रन दिएर एक विकेट हात पारेका थिए । यस्तै, सिरिजको दोस्रो खेलमा स्पिनर ललितनारायण राजवंशीले ७ ओभरमा ३० रन दिएर महत्वपूर्ण दुई विकेट हात पारे । जारी सिरिजमा नेपालले पहिलो खेलमा नेपालले घरेलु टिम स्कटल्याण्डविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको थियो । सिरिजमा नेपालले तेस्रो खेलमा आइतबार स्कटल्याण्डको सामना गर्नेछ ।

यो जितपछि नेपालले महत्वपूर्ण दुई अंक जोडेको छ । अहिले तालिकाको सातौं स्थानमा रहेको नेपालले १४ म्याच खेल्दासम्म चारमा जित, आठमा हार तथा दुई खेलमा अंक बाँडेको छ । नेपालसँग अब १० अंक भएको छ । दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सले २६ खेलबाट २६ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?