असार १४,धनगढ : कैलालीमा यस वर्ष एसइई परीक्षा दिएका ४० प्रतिशत विद्यार्थी ग्रेडेड ( उत्तीर्ण ) भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार जिल्लाबाट १८ हजार ७५१ विद्यार्थी एसइईमा सहभागी भएकोमा ७ हजार ५२३ विद्यार्थी ग्रेडेड भएका हुन । जुन कुल ग्रेडेड विद्यार्थीको ४० प्रतिशत हो ।
शिक्षा तथा समन्वय इकाई कार्यालय कैलालीका अनुसार कैलालीबाट एसइई दिएका मध्ये ७ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । जसमध्ये १ जना सामुदायिक र ६ जना निजी विद्यालयका विद्यार्थी रहका छन् । सामुदायिक विद्यालयतर्फ धनगढी उपमहानगरपालिका–३ मा रहेको त्रिभुवन मावि बोराडाँडीका विद्यार्थी अशोक अवस्थीले ४ जीपीए ल्याएका छन् ।
यस्तै ४ जीपीए ल्याउने निजी विद्यालयका विद्यार्थीमा धनगढी उपमहानगरपालिका– ८ मा रहेको एरिस्टो माध्यमिक विद्यालयका गौरव उपाध्याय र प्रदीप गिरी रहेका छन । शनिबार विद्यालयले पत्रकार सम्मेलन मार्फत दुई जना विद्यार्थीले ४।० जिपिए ल्याएको बताएका छन्। त्यस्तै, ३।६१ जिपिए ल्याउने १९ जना, ३।२१ जिपिए ल्याउने ५५ जना, २।८१ जिपिए ल्याउने ३८ जना र २।४१ जिपिए ल्याउने ७ जना गरी कुल ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
त्यस्तै ४ जिपिए ल्याउनेमा धनगढीकै जेसीज एभरेस्ट स्कुलका जस्टिन चन्द, टीकापुरको युनाइटेड एकेडेमीका निखिल लोहार, टीकापुरकै भुवन उपाध्याय गणेश बाबा इङ्ग्लिस बोर्डिङ स्कुल र घोडाघोडीमा रहेको पायोनियर्स एकेडेमीका रक्षा बुढा रहेका छन् ।