You are currently viewing कञ्चनपुरका अधिकांश स्थानीय तहमा सेवा प्रवाह ठप्प, सरकारी सम्पत्ति र कागजातमा व्यापक क्षति

कञ्चनपुरका अधिकांश स्थानीय तहमा सेवा प्रवाह ठप्प, सरकारी सम्पत्ति र कागजातमा व्यापक क्षति

२९भाद्र,धनगढीः ‘जेनजी पुस्ता’को आन्दोलनले कञ्चनपुरका अधिकांश स्थानीय तहमा सेवाप्रवाह ठप्प बनेको छ। आन्दोलनकारीले ३० भन्दा बढी सरकारी कार्यालयमा आगजनी र तोडफोड गर्दा कम्प्युटर, कागजात, फर्निचर र भवनसमेत नष्ट भएका कारण तत्काल सेवा दिन असम्भव भएको अधिकारीहरूले बताएका छन्।

कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टका अनुसार वडा र पालिका कार्यालयमा रहेका अधिकांश कागजात र सामग्री नष्ट भएकाले क्षतिको विवरण संकलन र सरसफाइमै ध्यान केन्द्रित गरिएको छ। “कतिपय शाखामा अलिकति मात्र सामग्री बाँकी छ, सेवा पुनःसञ्चालन गर्न केही दिन लाग्छ,” उनले बताए।
शुक्लाफाँटा नगरपालिकाको मुख्य कार्यालयसँगै वडा नं १ देखि १२ सम्मका कार्यालय पूर्ण रूपमा ध्वस्त भएको प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले जानकारी दिए। त्यस्तै, दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले कार्यालयमा तोडफोड भएपछि कर्मचारी त्रसित रहेको र सेवा कसरी सञ्चालन गर्ने भन्ने अन्योल रहेको बताए।

कञ्चनपुरमा सरकारी सेवा ठप्प, ३० भन्दा बढी कार्यालय जलेर नष्ट
जिल्ला प्रशासन कार्यालयसमेत सुरक्षित छैन। सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार आगजनीका कारण विद्युत्, इन्टरनेट र नागरिकता प्रणालीमा क्षति पुगेको छ।
भीमदत्त नगरपालिका, बेलडाँडी गाउँपालिका, पुनर्वास र कृष्णपुर नगरपालिकाका कार्यालय, जिल्ला कारागार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गेट, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र गुलरिया, सरकारी वकिल कार्यालयसहित दर्जनौँ संरचना तोडफोड र आगजनीमा परेका छन्।


सरकारी निकायसँगै एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका पार्टी कार्यालयमा समेत आगजनी र तोडफोड गरिएको छ। आन्दोलनपछि प्रशासनले कफ्र्यू हटाए पनि सेवाप्रवाह कहिले सामान्य अवस्थामा फर्किन्छ भन्ने अनिश्चितता छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply