


पत्रकार सम्मेलनमा नेपाली काँग्रेस कैलाली क्षेत्रीय सभापति भिम पडालले प्रतिबद्धतापत्र वाचन गर्दै सार्वजनिक गरे । प्रतिबद्धतापत्रमा नीति तथा कानून, युवा रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पूर्वाधार, सुशासन, पर्यटन र समावेशी विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ।
सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि प्रतिनिधिसभा तथा संसदका विभिन्न समितिमा प्रभावकारी भूमिका निर्वाह गर्ने अठोट व्यक्त गरिएको छ। साथै सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, पश्चिम सेती र पञ्चेश्वर जलविद्युत आयोजना, महाकाली करिडोर, सेती लोकमार्ग तथा २२० केभी प्रसारण लाइन विस्तारजस्ता राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनका लागि संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता गरिएको छ।
धनगढी उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्न पहल गर्ने, भूमिहीन, सुकुम्बासी, दलित, मुक्त कमैया र मुक्त हलियाको समस्या समाधान गर्दै लालपूर्जा वितरण प्रक्रिया तीव्र बनाउने विषय पनि प्रतिबद्धतामा समेटिएको छ।
युवा पुस्तालाई लक्षित गर्दै सूचना प्रविधि पार्क स्थापना, युवा संवाद तथा नवप्रवर्तन प्लेटफर्ममार्फत जेन–जीको आवाज नीतिमा रूपान्तरण गर्ने योजना अघि सारिएको छ। स्वदेशमै रोजगारी सिर्जनाका लागि सीपमूलक तालिम, व्यवसाय इन्कुवेसन सेन्टर, स्टार्टअप इकोसिस्टम विकास तथा निजी क्षेत्रसँग सहकार्यमा युवामैत्री रोजगारी नीति निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ।
कैलालीमा औद्योगिक क्षेत्र स्थापना, लगानीमैत्री वातावरण निर्माण तथा सार्वजनिक–निजी साझेदारीमार्फत रोजगारी सिर्जना गर्ने नीति पनि उल्लेख छ। यस्तै धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकामा वर्षायाममा हुने डुबान तथा नदी कटानको दीर्घकालीन समाधानका लागि तटबन्धन योजना सञ्चालन गरिने जनाइएको छ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने तथा दलित, आदिवासी जनजाति, थारु, रानाथारु, मुस्लिम, महिला, लैंगिक अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिको समावेशी विकासलाई प्राथमिकता दिने प्रतिबद्धता पनि गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?