You are currently viewing टाइनी क्रिकेटर्स, बिग ड्रिमः ड्रिमर्स कप २०८२ सुरु 

टाइनी क्रिकेटर्स, बिग ड्रिमः ड्रिमर्स कप २०८२ सुरु 

धनगढी, कार्तिक २५ । ‘टाइनी क्रिकेटर्स, बिग ड्रिम’ अर्थात् साना क्रिकेटर, ठुला सपना भन्ने नारा सहित गो ड्रीमर्स प्रा.लि. द्वारा आयोजना गरिएको अन्तर–विद्यालय स्तरीय कक्षा–६ मुनिको क्रिकेट प्रतियोगिता ड्रिमर्स कप २०८२ मङ्गलवार देखी धनगढीमा सुरु भएको छ। प्रतियोगिता धनगढी–३ स्थित धनगढी क्रिकेट एकेडेमीको खेलमैदानमा सुरु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव लोकबहादुर खड्का (रवि) ले ब्याटिङ र विशिष्ट अतिथि सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशी ले बलिङ गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरे।

कक्षा ६ वा सोभन्दा मुनिका बालबालिकालाई लक्षित गरी आयोजना गरिएको यस प्रतियोगिताले ग्रासरुट तहमा खेलिरहेका साना नेपाली क्रिकेटरहरूको प्रतिभा उजागर गर्ने उद्देश्य राखेको आयोजक गो ड्रीमर्स ले जनाएको छ।उद्घाटन कार्यक्रममा बोल्दै प्रादेशिक क्रिकेट संघका सल्लाहकार धर्मराज जोशीले निजी स्तरबाट अथक प्रयास गर्दै ग्रास रुट क्रिकेटलाई अगाडि बढाएकोमा आयोजक परिवारलाई धन्यवाद ज्ञापन गरे । जोशीले आगामी दिनमा सरकारी संयन्त्र र क्यानले थप भूमिका खेलोस् भनी आग्रह गर्दै निजी क्षेत्रको साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै, कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले यो प्रतियोगिताले ग्रासरुट लेबलका खेलाडीहरू लाई मोटीभेसन प्रदान गर्ने बताउँदै आयोजक गो ड्रिमर्सलाई धन्यवाद ज्ञापन  व्यक्त गरे । साथै प्रतियोगिता कक्षा छ मुनिका कलिला विद्यार्थीहरू का लागि निकै प्रेरणाको श्रोत बन्ने  विष्टको भनाई छ ।त्यस्तै, कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीले सुदूरपश्चिमको क्रिकेटलाई उचाइमा पुर्‍याउन डिसिएका सञ्चालक सुवास शाहीको ठुलो योगदान रहेको बताउँदै शाहीले वि.सं २०६४ साल देखी विभिन्न फ्रेन्चाइजी कपको आयोजना गर्दै नेपालकै पहिलो एनपीएल आयोजनको जग तथार गर्ने जस्ता दूर दृष्टि देखेर क्रिकेटको क्षेत्रमा काम गर्नु भएको धन्यवाद ज्ञापन गर्नुका साथै प्रतियोगिताको सफलताको कामना गरे ।


यसका साथै, प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव लोकबहादुर खड्का (रवि)ले डिसिए तथा आयोजक संस्था गो ड्रिमर्सले क्रिकेटको क्षेत्रमा गरेको योगदान क्रिकेटको सहर धनगढी बासी तथा कैलाली बासिले कहिल्यै नबिर्सिने बताउँदै प्राइभेट क्षेत्रबाट गर्ने यी र यस्ता विभिन्न प्रयासहरू को लागि खेलकुद परिषद्को तर्फबाट धन्यवाद ज्ञापन  गरे ।  साथै, खड्काले आज मैदानमा उत्रिएका खेलाडीहरू ले भोलि नेपाललाई चिनाउने छन् भन्ने विश्वासका साथ प्रदेश खेलकुद परिषद्का सधैँ खेलाडी र खेलकुद क्षेत्रको साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।

उद्घाटन दिनको पहिलो खेल धनगढी प्रज्ञा सदन (डीपीएस) र इमरेल्ड एकेडेमीबिच भएको थियो। टस जितेर बलिङ रोजेको इमरेल्ड एकेडेमीलाई डीपीएसले ८४ रनको लक्ष्य दिएको थियो। जवाफमा इमरेल्डले लक्ष्य पछ्याउन नसक्दा डीपीएस ३ रनले विजयी भयो। दुई ओभरमा १४ रन र २ विकेट लिएर सुदिप रावत खेलको प्लेयर अफ द म्याच बने। भने यस सँगै उनी ड्रिमर्स कपको प्लेयर अफ द म्याच बन्ने पहिलो खेलाडी बने ।

दोस्रो खेलमा चैतन्य पाठशाला र एक्सिस विद्याश्रम बिच प्रतिस्पर्धा भयो। टस जितेर बलिङ रोजेको चैतन्य पाठशालालाई एक्सिस विद्याश्रमले ९८ रनको लक्ष्य दिएको थियो। जवाफमा चैतन्यले २६ रनमै सीमित हुँदै ७२ रनको हार बेहोर्नु पर्‍यो। दुई ओभरमा ७ रन र ३ विकेट लिँदै  एक्सिसका  प्रभास शाह प्लेयर अफ द म्याच घोषित भए।तेस्रो खेलमा सिद्धार्थ विद्या निकेतन र बाधसल्या विद्या निकेतन बिच प्रतिस्पर्धा भयो । उक्त खेलमा सिद्धार्थ विद्या निकेतनले टस जित्दै ब्याटिङ रोज्यो र बाधसल्या विद्या निकेतनलाई ५५ रनको लक्ष्य दियो। लक्ष्य पछ्याउँदै बाधसल्या विद्या निकेतनले ७ विकेटको सहज जित हात पार्‍यो र १७ बलमा २३ रन प्रहार गरेका गौरव भट्ट प्लेयर अफ द म्याच बने।

चौथो खेलमा दून एकेडेमी र वेस्टर्न क्रिस्टल एकेडेमीबिच प्रतिस्पर्धा भयो। पहिले बलिङ रोजेको दून एकेडेमीलाई वेस्टर्न क्रिस्टल एकेडेमीले १०१ रनको लक्ष्य दियो। जवाफमा दून एकेडेमीले सो लक्ष्यलाई ६ विकेट बाँकी छँदै सहजै पछ्यायो। दून एकेडेमीको जीतमा ब्याट्सम्यान योगेश खड्का प्लेयर अफ द म्याच घोषित भए। खड्काले मात्र २६ बलमा आक्रामक ७१ रनको विस्फोटक इनिङ्स खेले।

पहिलो दिनको अन्तिम तथा पाँचौँ खेलमा त्रिभुवन मा.वि र होलील्याण्ड एकेडेमी बिच प्रतिस्पर्धा भयो । त्रिभुवन मा.वि ले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। यता टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको होलील्याण्ड एकेडेमीले निर्धारित ओभरमा १०४ रनको चुनौती पूर्ण लक्ष्य प्रस्तुत गर्‍यो।जवाफमा, त्रिभुवन मा.बी लक्ष्य भेट्टाउन असफल रह्यो। भने होलील्याण्ड एकेडेमीले यो खेल ४३ रनले जित्न सफल भयो। होलील्याण्ड एकेडेमीको जितमा प्रशान्त बोगटी उत्कृष्ट प्रदर्शनका कारण प्लेयर अफ द म्याच घोषित भए।

उनले ब्याटिङ र बलिङ दुवैमा महत्त्वपूर्ण योगदान दिएका थिए। ब्याटिङ मार्फत उनले २६ बलमा ३३ रनको महत्त्वपूर्ण पारी खेलेर टोलीलाई १०४ रनको लक्ष्यसम्म पुर्‍याउन मद्दत गरे। भने बलिङमार्फत उनले २ ओभर बलिङ गर्दै मात्र ९ रन खर्चेर २ महत्त्वपूर्ण विकेट लिए।टी–१० फर्म्याटमा खेलाइने यो प्रतियोगिता सुदूरपश्चिममा बाल क्रिकेटको विकास र भविष्यका राष्ट्रिय खेलाडीहरू तयार पार्ने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। विजेता टोलीलाई नगद रु. २२,२२२, आकर्षक ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ भने उपविजेताले रु. ११,१११ सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्।

उद्घाटन समारोहमा कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्ट, सचिव देव नारायण झा, मालिकार्जुन हार्डवेयरका सञ्चालक तथा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सल्लाहकार धर्मराज जोशी, र सिपी हस्पिटलका प्रशासन प्रमुख तथा क्यानका राष्ट्रिय अम्पायर हेमराज जोशी लगायतको उपस्थिति थियो। निलम पाण्डेले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य गो ड्रिमर्सका प्रतिनिधि गोविन्द भट्ट (विक्रम)ले राखेका थिए भने कार्यक्रमको अध्यक्षता डिसिए धनगढीका म्यानेजर तथा प्रतियोगिता संयोजक सन्दीप भट्ट ले गरेका थिए।

प्रतियोगिता सफल बनाउन सहयोग गर्ने  मुख्य प्रायोजक एसपीए कलेज धनगढी, सहयोगी संस्था धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, प्रायोजकहरू अनिरुद्र जिडी ग्रुप, सुदूरपश्चिम रोयल्स, निशर्ग हस्पिटल, फुड पार्टनर ब्रेड बक्स, प्रोडक्सन पार्टनर फोर्टी टेन, इन्टरनेट पार्टनर वर्ल्डलिङ्क र हेल्थ पार्टनर सिपी हस्पिटल लाई आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ।

थप तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply