बाजुराका ८ जना उम्मेदवारहरुले जिल्लामा शान्तिपूर्ण निर्वाचन र स्वतन्त्र मतदान गर्न पाउने वातावरण बनाउन सामूहिक प्रतिबद्धता गरेका छन् । बिहीवार सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गरी एक स्वतन्त्र र ७ दलका उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा बाजुराका राजनीतिक दल र उम्मेदवारहरूले सार्वजनिक रूपमा संयुक्त प्रतिबद्धता जनाउनु जिल्लाको चुनावी इतिहासमा सकारात्मक संकेतका रूपमा देखिएको छ ।यस अघिका निर्वाचनमा प्रायः प्रतिस्पर्धा तीव्र हुने निर्वाचनमा आपसी द्वन्द्व, आरोप–प्रत्यारोप र सामाजिक तनाव देखिँदै आएको सन्दर्भमा यो प्रतिबद्धता राजनीतिक परिपक्वताको उदाहरण मान्न सकिन्छ ।

संयुक्त प्रतिबद्धता पत्रमार्फत दलहरू र उम्मेदवारहरूले निर्वाचन प्रक्रिया स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउने स्पष्ट अडान व्यक्त गरेका छन् । प्रचार–प्रसारलाई शिष्ट, मर्यादित र अहिंसात्मक बनाउने तथा उम्मेदवारको व्यक्तिगत जीवनमाथि टीकाटिप्पणी नगर्ने भनाइले विगतका चुनावी विकृतिप्रति आत्मसमीक्षा गरेको संकेत दिन्छ ।
त्यस्तै निर्वाचनको प्रचार र मतदान प्रक्रियामा कसैबाट कुनै प्रकारको धाँधली, घुसपैठ जस्ता कार्य तथा व्यवहार भएमा संयुक्त अस्वीकार गर्ने, निर्वाचनमा उत्पन्न हुने विवाद आपसी संवादबाट व्यवस्थापन गर्ने, निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने, उम्मेदवारीको विषय बनाई व्यक्ति, समूह तथा समुदायविच द्वन्द्व उत्पन्न हुने कार्य नगर्न नगराउन आम जनसमुदाय र मतदातामा अनुरोध सहितको प्रतिबद्धता जनाएका छन् ।
एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र भएको बाजुरामा नेपाली कांग्रेसबाट जनक गिरी, नेकपा एमालेबाट लालबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश शाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हेमराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशर शाही, नेकपा माओवादीबाट भुपेन्द्र विक, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दिपक डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले मनोनयन दर्ता गराएका छन् ।८ जना उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता पत्रमा हस्ताक्षरसहित यो जिल्लाको मात्रै नभई समग्र राजनीतिक असल अभ्यास भएको भन्दै यसको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्धता समेत जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?