धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा अवस्थित वैशेषिक पाठशाला माध्यमिक विद्यालयले आफ्नो ४७औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको “वैशेषिक उत्सव” आज एक विशेष कार्यक्रमका बीच उद्घाटन गरेको छ।

विद्यालयका प्रबन्ध निर्देशक प्रकाश छेडालको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहका प्रमुख अतिथि प्रदेश योजना आयोगका सदस्य नृप सुनार रहनुभएको थियो।
वैशेषिक उत्सवअन्तर्गत विद्यार्थी, शिक्षक तथा अभिभावकका लागि विभिन्न खेलकुद तथा बौद्धिक प्रतियोगिताहरू सञ्चालन गरिने विद्यालयले जनाएको छ। उत्सवमा महिला अभिभावकहरूका लागि नृत्य प्रतियोगिता तथा पुरुष अभिभावकहरूका लागि स्लो साइकल रेस आयोजना गरिनेछ।

यस वर्ष नियमित प्रतियोगितासँगै विद्यार्थीहरूबीच साना (छोटा) भिडियो नाटक निर्माण प्रतियोगिता पनि सञ्चालन गरिनेछ, जसले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने विश्वास विद्यालयले लिएको छ।समाजप्रतिको उत्तरदायित्व बहन गर्न सिकाउने उद्देश्यले उत्सव अवधिभर गाउँ–टोल, मन्दिर तथा सार्वजनिक स्थलहरूको सरसफाइ कार्यक्रम गरिनेछ भने असहायहरूको आश्रयस्थलमा दान सहयोग कार्यक्रम पनि आयोजना गरिनेछ।

त्यसैगरी, पूर्व–प्राथमिक तहका बालबालिकाहरूका लागि ‘वैशेषिक प्रिन्स एण्ड प्रिन्सेस’ नामक ट्यालेन्ट सो कार्यक्रम पनि समावेश गरिएको छ।
माघ ४ गतेदेखि सुरु भएको वैशेषिक उत्सव माघ १५ गते विधिवत् रूपमा समापन हुने विद्यालय प्रशासनले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?