आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजाआजा गरी मनाइँदै

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज (शुक्रबार) विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ ।चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने गर्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘बसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ ।

यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस वर्ष भने शुक्र अस्त भएकाले विवाह, व्रतबन्धजस्ता कर्म यस पर्वमा गरिँदैन । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । आजका दिन बालबालिकाहरुलाई अक्षरआरम्भ समेत गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top