सुदुरपश्चिम प्रदेशको गाउँको एक जना सज्जन, कम पढेको, बाध्यता र रहर बिचको गहिरो र लामो यात्रा तय गरेको एक युवाको आफ्नै सहर डुल्दैछ, दोरीको कथा। दोरीको कथा, आफैंमा केही कोष पर लैजांदै सुन्दर प्रेमको कथा बन्दछ , कहिं पर गएर यौवनका प्रसङ्ग कोट्याउँदछ भने कतै गाउँको व्यथा र कथा कोट्याएको छ, कोट्याउँदा कोट्याउँदै भारतका गल्लिहरुमा आफ्ना खुन पसिना बेचेको त्यो सङ्घर्षलाई बोकी आफ्नै काँधमा समुन्द्र पारीको देश, जापन पुगेको छ।

मयसर काको त्यो साथले एक जना युवाको कथा जापानमा गएर दोरी र कोइतोसङ्ग जीवनको एउटा रङ भरेको त्यो सुन्दर क्षणलाई दोरीले सुन्दर तरिकाले बोकेको देखिन्छ।दोरीभित्र पात्रको सङ्गिन प्रेम, रङ्गिन सपना , गन्तव्यहीन गल्लिहरु सिञ्चित छन्। उसको जापानको यात्रा, सुरुवात हुँदै गर्दाका ती सपनाका थुप्रै सहर सयर गरेको र फर्किंदा मुटु घोच्ने सहरहरु सयर एकैपटक गरेको छ दोरीले। नेपालीको जीवन बाध्यता र रहरको त्यो झिनो भिन्नतामा पिल्सिरहेको ठूलो कथा बोक्ने आँट गरेको छ दोरी उपन्यासले।
वास्तवमा ‘दोरी’ को हुन्, दोरी उपन्यासभित्र?
दोरी एक रोबर्ट हुन्, तर मानिस झैं काम गर्ने, मानिसको कामुकता, मानिसको उद्योग र दैनिक जीवनका सम्पूर्ण कर्महरु गरिदिने, कोइतो (मालिक) ले अह्राएको गरिदिने देव ( नेपाली गाउँले) जस्तै जीवन काहानी समेटिएको छ। फरक केवल देव मानिस थियो भने दोरी एक मेसिन। दोरीभित्र अनेक विधा , पक्ष, भाव समेटिएको छ, केही केहीलाई गुथेर, उल्टिन खोजेको, उधाड्न खोजिएको छ यो आलेख भित्र।
मनोवैज्ञानिक पक्ष:
देवले पात्रता निभाउँदै गर्दा आफ्नो भावनात्मक चेतलाई बडो रोचक ढङ्गले प्रस्तुत गरेका छन्। भारतबाट जापान सम्मको यात्रा गर्दा उसको वास्तविक धरातल र सपनाको उचाइ बिचमा सागर र सगर भन्दा कयौं गुणा उचो देखिन्छ, उसको उडान। त्यो जापानको बसाइँ , दोरीप्रतिको अचेत प्रेम, प्रेमप्रतिको इमानदारीता र शङ्का, अस्पतालको बसाइँ , त्यो भित्रका मनोवैज्ञानिक खेल , आमा- बा प्रतिको व्यवहार लगायतका कुरा हेर्दा लेखकले देवको मनोविज्ञान मज्जाले खेल्न खोजेको देखिन्छ। उनको सोचाइको तार निकै लम्ब्याउन खोजिएपनी उपन्यासमा बाबर घुमाइ नगरौं भन्ने मनोविज्ञान लेखकमा भएजस्तो देखिन्छ।
विषयवस्तुको ज्ञान सिकाइमा चञ्चलता:
लेखकले पात्रका माध्यमबाट आफ्नो पढ्ने अभिरुचि , विषयवस्तुको बारेमा जान्ने उत्कठ इच्छा, विज्ञसङ्गको प्रश्नोत्तर जस्ता विषयले उसलाई पढ्ने वा जान्ने अभिरुची भएको पात्रका रुपमा उभ्याउन खोजेका छन्। उनले विकिरणले मानिसको जीवनमा पार्ने प्रभाव र असर, भगवान र विज्ञानप्रतिको भेदबारे पनि खोल्न खोजेको देखिन्छ।
नेपालका अस्पतालप्रतिको भाव:
पात्र जुन अस्पतालमा भर्ना भएका हुन्छ्न्, त्यो अस्पतालले बिरामीलाई बडो इमानदारपूर्वक महत्त्वपूर्ण स्थान दिएको देखाइएको छ। उसको मनोविज्ञान , मनोविज्ञानलाई चेतपूर्ण अर्थात् जागृतीकरण गर्नमा जसरी अस्पतालले भूमिका खेलेको छ त्यसरी हाम्रा अस्पतालले खेल्न पाए गज्जब हुन्थ्यो भन्ने अभिप्रायले यो प्रसङ्ग कोट्याएको देखिन्छ। लेखक प्रगतिवादी चिन्तक भएका कारणले पनि होला उनले यसरी अस्पतालको सेवा, सुविधाप्रती एक जत्था शब्दले गुथेको।
दोरीको यौवन:
लेखकले पात्रको माध्यमबाट यौवनको प्रसङग कोट्याएका छन्। पात्रले एकपटक दोरीसङ्गको कोइतोको सम्पर्कबारे खुलासा गरेको देखिन्छ। दोरीको लिङ्ग, दोरीका वक्षस्थल जस्ता गोप्याङ्गको बारेमा पनि खुल्न खोजेका छन् भने कतै मिहिन ढङ्गमा हेर्ने हो भने नेपाली समाजको चरित्रलाई पनि ख्याल गर्ने खोजेका हुन् कि भन्ने आभाष हुन्छ।
विज्ञानप्रतिको चेत:
लेखकले दोरीमार्फत रोबर्टले गरिरहेको काम , गर्न सक्ने काम, मानवीय आवश्यकताको पूर्ती , लगायतका कामहरु गर्न सक्ने वैज्ञानिक आविष्कारको बारेमा दख्खलपूर्वक पेश गरेका छन्, आफ्ना तर्कहरु। विज्ञान र भगवानविचको प्रसङ्गमा आफ्नो तर्कमा अडिग भएर उभिन नसकेपनी अन्तरकुन्तरका तर्कहरु भने मज्जाले प्रस्तुत गरेका छन्। विकिरण र विकिरणले मानिसमा पार्ने दीर्घकालिन असरको बारेमा पनि जानकारी राखेका छन्। मानवलाई सत्य तथ्यको नजिक पुर्याउने चेष्टा चाहिँ सह्रानिय नै छ।
नेपालीको बाध्यता र रहर:
भौतिक पुर्वाधारको विकास न्यून हुनु, जनसङ्ख्या र आवश्यकताबिचको खाडल अझ झन् जहिरो बन्दै जानू र रोजगारको शिलशिलामा पलायन हुनु नेपालीको बाध्यता हो भनें सहरका अभिजात वर्ग जसले विदेश सयर गर्ने रहर राखेका छन्, बा- आमा भन्दा अझ धेरै कमाउने चाहना राखेका छन् ती भनेका रहरले पलायन भएका हुन् भने अर्को वर्ग छ जो शासक वर्ग हो , जसले देखको अर्थतन्त्र र राज्यतन्त्र, र राज्यका संयन्त्रमाथी दमन गरेको छ , यी र यस्ताहरुले आफ्ना कु- कर्म ढाकछोप गर्न पलायन भएका देखिन्छन्। यी तीन किसिमका वर्गहरु मध्य लेखकले जो रोजगारीको शिलशिलामा विदेश पस्छ त्यसको कथा समेट्न खोजेका छन्।
निष्कर्ष :
समग्रमा दोरीको चरित्र पढ्न लायक, सम्झिन लायक छ भने १२ र १३ अध्याय नजिक पुग्दा भने लेखकले अलि झुक्याउन खोजेको जस्तो भान हुन्छ। दोर्याएर पढ्यो या ध्यानमग्न भएर पढ्यो भने अझ गहिरो बुझिन्छ होला। सुदुरपश्चिम प्रदेशको त्यो पनि डोटेलि लवजको ठिटो जापानको भाषा, जापानको कर्म, भोगाइ जस्ता कुराहरु समेटेको उक्त उपन्यासले समग्रमा एक गज्जबको विषयवस्तु उठान गरेको देखिन्छ। धन्यवाद!
नवराज जोशी,धनगढी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?