धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.धनगढीले Smile Train को सहकार्यमा जन्मजात ओठ र तालु काटिएको (Cleft Lip/Palate) समस्या भएका बिरामीहरूका लागि निःशुल्क शल्यक्रिया शुरू गरेको छ। यो सेवा सुदूरपश्चिम प्रदेशमा पहिलोपटक सञ्चालनमा आएको हो, जसले पश्चिम नेपालका बासिन्दाहरूलाई काठमाडौं धाउनुपर्ने हटेको अस्पताल प्रशासनले जनाएको छ । Cleft Lip/Palate एक जन्मजात समस्या हो, जसमा ओठ वा तालु काटिएको हुन्छ। यो समस्या प्रत्येक ५०० मध्ये १ जनामा देखिन्छ र शल्यक्रियाबाट पूर्ण उपचार सम्भव छ। Smile Train, अमेरिकाको गैरनाफामूलक संस्था,ले विश्वका ७० देशहरूमा निःशुल्क Comprehensive Cleft Care प्रदान गर्दै आएको छ।
यो कार्यक्रम सुदूरपश्चिममा पहिलोपटक निसर्ग अस्पतालमार्फत शुरू भएको अस्पतालका अध्यक्ष तिर्थ राज पन्तले जानकारी दिए । निसर्ग अस्पताल पश्चिम नेपालमा नियमित रूपमा यस्तो शल्यक्रिया गर्ने पहिलो स्वास्थ्य संस्था बनेको छ। Smile Train South Asia Division को दक्ष टोलीले अस्पतालको अपरेशन थिएटर (OT), ICU, PICU, र सम्पूर्ण स्टाफको निरीक्षण गरी उच्च मापदण्ड (Standard Surgery Safety and Quality Protocol) पूरा गरेको प्रमाणित गरेको छ। शल्यक्रियाका लागि डा. दीपक ठकुराठी (Cleft Surgeon) र डा. हेमन्त ओझा तथा डा. सुनिल भट्ट (Cleft Anesthesia) लाई स्वीकृति प्रदान गरिएको छ। यो कार्यक्रममा बाल रोग विशेषज्ञहरू (डा. प्रदीप मिश्र र डा. दीपक पौडेल), डेन्टल, स्पीच थेरापी, पोषण, नर्सिङ, मनोविज्ञान, र सामाजिक सञ्जालको टोली समावेश छ।
बिरामीले शल्यक्रिया, जाँच, अस्पताल भर्ना, औषधि, र अन्य सम्पूर्ण खर्च निःशुल्क पाउनेछन्। हस्पिटलका अध्यक्ष पन्तले यो सेवाले सुदूरपश्चिमका जनताहरूलाई स्थानीय स्तरमै गुणस्तरीय उपचार प्रदान गर्ने लक्ष्य राखेको बताए। यो पहलले क्षेत्रका बासिन्दाहरूको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?