You are currently viewing धनगढी ४ ओमशान्ती टोलमा रहेको ग्ली एकेडेमीले यसरी भव्यताका साथ मनायो १८औं वार्षिकोत्सव तथा अभिभावक दिवस

धनगढी ४ ओमशान्ती टोलमा रहेको ग्ली एकेडेमीले यसरी भव्यताका साथ मनायो १८औं वार्षिकोत्सव तथा अभिभावक दिवस

धनगढी ४ ओमशान्ती टोलमा रहेको ग्ली एकेडेमीले १८औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द अधिकारीको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी राना रहेकी थिइन । प्रमुख अतिथि रानाले ग्ली एकेडेमीलाई आफूले विगतबाटै चिन्दै आएको भन्दै पछिल्लो समय नयाँ व्यवस्थापनका साथ शान्ती भट्टको नेतृत्वले विद्यालयले उल्लेख्य फड्को मारेको बताएकी छन ।


उपप्रमुख रानाले यत्रो ठूलो कार्यक्रम सञ्चालनको सबै जिम्मा विद्यार्थीलाई दिनु र विद्यार्थीहरुले सजिलै कार्यक्रम चलाएको देखेर आफू अत्यन्तै खुशी भएको पनि बताइन ।त्यस्तै प्रमुख अतिथि रानाले पछिल्लो समय पठन संस्कृतिमा कमि आइरहेका बेला विद्यालयले आमन्त्रीत अतिथिलाई मायाको चिनो स्वरुप पुस्तक उपहार दिने चलन धेरै राम्रो लागेको भन्दै यस्ता सृजनशील कार्यले धनगढीलाई बौद्धिक र समृद्ध शहर बनाउन थप टेवा पुग्ने बताइन ।

उनले पछिल्लो समय आफू धनगढीका धेरै कार्यक्रममा जाँदा मायाको चिनो स्वरुप पुस्तक नै उपहार पाइरहेकोले अब आफूलाई पनि पुस्तक पढौं पढौं लागिरहेको पनि बताइन ।

कार्यक्रमको सुरुवात विद्याथीहरुले गुरु वन्दना तथा सरस्वती बन्दनाबाट गरेका थिए । उक्त वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा स साना नानीहरुले नृत्य मार्फत प्रस्तुत गरेको शिव ताण्डप असाध्यै आकर्षक थियो । सो शिव ताण्डपलाई दर्शकहरुले असाध्यै मन पराएका थिए । कार्यक्रम अवधिभर विद्यार्थीहरुले कुनैबेला गीत गाएर दर्शक तथा अभिभावकको मन जिते भने कुनै बेला थरीथरीका नृत्य मार्फत सबैलाई मोहित गराए ।

त्यसैगरी कुनैबेला सामाजिक विसंगति विरुद्ध बुलन्द आवाज सहितको नाटक प्रस्तुत गरेर दर्शकहरुको ध्यान आफूतर्फ आकर्षण गर्न भ्याएका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न विषयमा आफ्नो वक्तत्व कला पनि प्रस्तुत गरेका थिए भने कक्षा ३ मा अध्ययनरत छात्र अक्षत जोशीले हनुमान चालिसा कण्ठस्थ सुनाउँदै सबैलाई चकित पारेका थिए ।


कार्यक्रममा अघिल्लो शैक्षिक सत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने विद्यालयको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चमा गई सफलता हात पारेका विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो ।विद्यालयकी संस्थापक प्रिन्सिपल शान्ती भट्टले कोरोना कालको एकदम अप्ठ्यारो समयमा आफुहरुले विद्यालय सञ्चालन गरेपनि सञ्चालक सदस्यहरुको स्पष्ट भिजन र कर्मचारी साथीहरुको मिहिनेतले गर्दा नै आज ग्ली एकेडेमीलाई यहाँसम्म ल्याइपुर्याएको बताइन ।


प्रिन्सिपल भट्टले विद्यार्थीहरुको सर्वागिंण विकासका लागि आफूहरुले कुनै कसर बाँकी नराखेको भन्दै आगामी दिनमा अझै व्यवस्थित भएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन ।

१८औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा धनगढी नगर प्याब्सनका अध्यक्ष ध्रुर्ब बहादुर सिंह र ऐश्वर्य विद्या निकेतनका प्राचार्य संजय कुमार पन्तले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


उक्त वार्षिकोत्सव समारोहमा धनगढीका प्रतिष्ठित विद्यालयका संस्थापक तथा प्रिन्सिपल,अभिभावक लगायत समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

विद्यालयकी सहायक प्रधानाध्यापक तारा पल्लवीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन विभिन्न चरणमा गरी विद्यार्थीहरुले नै गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply