धनगढी उपमहानगरपालिकाको आयोजनामा सुरु भएको प्रदेशस्तरीय सिप तथा रोजगार मेला–२०८२ को श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले औपचारिक रूपमा उद्घाटन गरेका छन्। माघ ५ गतेदेखि सुरु भएको मेला धनगढी उपमहानगरपालिका–१ स्थित खुलामञ्चमा सञ्चालन भइरहेको छ।

मेलाको उद्देश्य सुदूरपश्चिम प्रदेशका युवायुवतीलाई सीप विकासमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्नु रहेको छ। मेलाअन्तर्गत ७ वटा मुख्य क्षेत्रका २२ प्रकारका सिपमूलक तालिम सञ्चालन गरिनेछ। प्रत्येक तालिममा २५ जनाका दरले प्रशिक्षार्थी छनोट गरि सहभागी गराईएको छ। यस वर्ष कुल ६ सय जनालाई तालिम प्रदान गर्ने लक्ष्य लिइएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले युवायुवतीलाई सीपयुक्त बनाउँदै स्वदेशमै रोजगारी सिर्जना गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताए। सीप विकास र रोजगारबीचको दूरी घटाउन यस्ता मेलाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले स्थानीय तहको सक्रियताले रोजगारी प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सुदूरपश्चिमका युवायुवतीलाई सीपसहित आत्मनिर्भर बनाउने उद्देश्यले मेला आयोजना गरिएको बताए। उनका अनुसार यस वर्षको मेलाका लागि प्रदेशभरबाट ३ हजार ८ सय २ जनाले आवेदन दिएका थिए। आवेदनमध्ये सबैभन्दा धेरै एड्भान्स ब्युटिसियन तालिममा परेको मेयर हमालले जानकारी दिए।

आवेदन दिनेहरूमध्ये करिब २ हजार २ सय महिला, करिब १५ सय पुरुष तथा बाँकी लैङ्गिक तथा यौनिक अल्पसंख्यक समूहका आवेदक रहेका छन्। सबैभन्दा धेरै आवेदन धनगढी उपमहानगरपालिका क्षेत्रबाट परेको जनाइएको छ।

कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला रानाले सबै पालिकाका युवायुवतीलाई समेटिएको बताइन्। गत वर्ष तालिम लिएका करिब ५० प्रतिशत सहभागीले रोजगारी पाएको तथ्यले यस वर्ष थप हौसला मिलेको उनको भनाइ छ।

महिला आवेदकको संख्या उल्लेख्य रहेकाले कार्यक्रमले महिलाको आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास उनले व्यक्त गरिन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?