You are currently viewing बर्दगोरियामा १५ शय्याको अस्पताल सञ्चालनमाःस्थानीय हर्षित

बर्दगोरियामा १५ शय्याको अस्पताल सञ्चालनमाःस्थानीय हर्षित

१३श्रावण,२०८२ः सबै स्थानीय तहमा एक अस्पताल अनिवार्यको नीति अनुसार पहिलो पटक कैलालीको बर्दगोरियामा १५ शय्याको दोदोधरा अस्पताल सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मङ्सिरमा ३९६ वटा पालिकामा एकैपल्ट अस्पताल निर्माण गर्न शिलान्यास गर्नुभएको थियो । त्यसमध्येकै दोदोधरा अस्पताल सञ्चालनमा आएको छ ।
नेपालका ७५३ स्थानीय तहमा पहिलो पटक बर्दगोरिया गाउँपालिकाले अस्पताल सञ्चालनसँगै गुणस्तरीय स्वास्थ्य सेवा सुरु गरेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले बताए । उहाँले अस्पतालको भौतिक निर्माणमा १८ करोड रुपियाँ खर्च भएको र प्रयोगशालाका उपकरणलगायतका सामग्रीमा प्रदेश सरकारको सहयोगमा २५ करोडसम्म खर्च भएको जानकारी दिए ।
छिमेकी घोडाघोडी र लम्कीचुहा नगरपालिका, चुरे गाउँपालिका तथा मोहन्याल गाउँपालिकाको पूर्वी–दक्षिणी क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचार सेवा दिँदै आएको छ । सो अस्पतालमा दुई जना एमबिबिएस चिकित्सकसहितको व्यवस्था गरिएको छ । २४ सै घण्टा आकस्मिक सेवा दिँदै आएको दोदोधरा अस्पतालले शल्यक्रिया सेवासमेत विस्तार गर्ने अध्यक्ष कुँवरले बताए ।

अस्पतालमा ४८ जनाको जनशक्ति रहेको छ भने अस्पतालले निःशुल्क पोस्टमार्टम सेवा सुरुसमेत गरेको छ । साथै सर्पदंश उपचार सेवा, सिकलसेल एनिमिया रोगको समेत उपचार हुने गरेको छ । अस्पतालले आँखा उपचार, निःशुल्क रगत, स्वास्थ्य बिमाको कार्यक्रम, शववाहन, घरदेखि घाटसम्म महाप्रस्थान, मृत्यु भएपछि हरेक नागरिकलाई १० हजार किरियाखर्चसमेत दिने गरेको गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीले बताए । गाउँपालिकाको आगामी योजना सेवा विस्तार गरेर १५ बाट ५० शय्याको अस्पताल डायलासिस, पित्तथैली, पत्थरी, एपेन्डिक्स जस्ता अपरेसन र आइसियुसमेत सञ्चालनमा ल्याउने तयारीमा रहेको जनाएको छ ।
गाउँमै सस्तो सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाएपछि स्थानीयमा खुसी छाएको छ । उपचारमा आएका नरेश विकले घरआँगनमा आवश्यक सम्पूर्ण स्वास्थ्य उपचार पाउँदा खुसी भएको बताए । उहाँले न्यून आयस्रोत भएका आफूहरू जस्तोलाई बाहिर गएर उपचार गर्न नसकिने बताउँदै घरनजिकै सस्तोमा उपचार पाउँदा सहज भएको बताए । अर्को स्थानीय श्यामलाल चौधरीले घरमै सर्वसुलभ उपचार पाएको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले राम्रो काम गरेको उहाँको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशमा एकसाथ शिलान्यास गरिएका ५३ आधारभूत अस्पतालमध्ये अधिकांश अलपत्र अवस्थामा रहेको बेला कैलालीको बर्दगोरियाले भने घरमै सुविधासहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । अरू ठाउँमा भने जग्गा प्राप्तिमा ढिलाइ, ठेकेदारको लापर्बाही, बजेट अभावलगायत विभिन्न कारणले अस्पताल निर्माणमा सन्तोषजनक प्रगति हुन नसकेको जनप्रतिनिधिले बताएका छन् । आधारभूत अस्पतालको शिलान्यासको पाँच वर्षभन्दा बढी समय बितिसक्दा पनि अधिकांश अस्पताल निर्माण हुन सकेका छैनन् । केही पालिकाले त जग्गासमेत व्यवस्था गर्न सकेका छैनन् । केही पालिकामा भवन बने पनि अस्पताल सञ्चालन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply