You are currently viewing सिद्धार्थ हार्डवेयर्स क्रिकेट कपको उपाधि राजपुर राइनोजलाई

सिद्धार्थ हार्डवेयर्स क्रिकेट कपको उपाधि राजपुर राइनोजलाई

कैलाली हार्डवेयर व्यवसायी संघको आयोजनामा धनगढीको चन्द्रसूर्य खेलमैैदानमा सम्पन्न प्रथम सिद्धार्थ हार्डवेयर क्रिकेट कप ( T -10 ) को उपाधि राजपुर राइनोजले जितेको छ । कैलाली हार्डवेयर व्यवसायी संघका महासचिव समेत रहेका धर्मराज जोशीकोे कप्तानीमा रहेको राजपुर राइनोजले विहिबार सम्पन्न फाइनलमा अत्तरीया टाइटन्सलाई ६१ रनले पराजित गर्दै राजपुर राइनोजले उपाधिमाथि कब्जा जमायो । टस हारेर पहिला ब्याटिङ गरेको राजपुर राइनोजले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै १८१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । १८२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको अत्तरीया टाइटन्सले निर्धारित ओभरमा मात्रै १२० रन मात्रै बनाउन सक्यो ।


उपाधि जितेको राजपुर राइनोजले नगद ५० हजार,आकर्षक ट्रफी र मेडल प्राप्त गर्यो भने उपविजेता टोली अत्तरीया टाइटन्स नगद ३० हजार आकर्षक ट्रफी र मेडल प्राप्त गर्यो । प्रतियोगीतामा सर्वोत्कृष्ट खेलाडी हिमाल शाह,उत्कृष्ट बलर संघका अध्यक्ष समेत रहेका कुबेर बहादुर शाही र उत्कृष्ट ब्याटर भुवन बोहरा चुनिए ।

विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथि प्रदेश सभा सदस्य रमेश सिंह धामी,कैलाली उद्योग वाणिज्य संघका महासचिव दिनेश लम्साल,सचिव प्रकाश चन्द,कोषाध्यक्ष तिलक बोहरा,अत्तरीया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा लगायतले सयुक्त रुपमा नगद तथा ट्रफी प्रदान गरे ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य रमेश सिंह धामीले खेलका माध्यमबाट कैलाली हार्डवेयर व्यवसायी संघले एकताको सन्देश दिएको बताएका छन । उनले खेल सबैका लागि अपरिहार्य रहेकाले यस्ताखाले मैत्रीपूर्ण प्रतियोगीता भैराख्नुपर्ने समेत बताए ।

कार्यक्रम समापन गर्दै कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष कुबेर बहादुर शाहीले यसपटक राम्रो सिकाई भएका भन्दैे अर्कोवर्ष राम्रो कर्पुरेट क्रिकेट प्रतियोगीता आयोजना गर्ने बताएका छन । उनले व्यवसायीहरुमा एकताको सन्देश दिनका लागि आफूले यो प्रयास गरेको भन्दै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply