असार,९ धनगढी कैलाली जिल्ला फुटबल संघको आयोजना,अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोग तथा सुदूरपश्चिम खेलकुद परिषदको प्रर्वद्धनमा धनगढीमा ५ दिने फुटबल प्रशिक्षण तालिम सम्पन्न भएको छ । असार ५ गते सुरु भएको उक्त प्रशिक्षण कार्यक्रम आज समापन गरिएको हो ।

तालिमबाट ४२ जना नयाँ प्रशिक्षक बनेका छन । उक्त प्रशिक्षणमा प्रशिक्षार्थीहरुलाई प्रशिक्षकले गर्नुपर्ने भूमिका देखि लिएर समुदायमा नयाँ प्रतिभा कसरी चिन्ने लगायत फुटबल सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान सिकाइएको प्रमुख प्रशिक्षक सञ्जित सिंहले बताए ।

सिंहसँगै एन्फाका प्रशिक्षक चेत नारायण श्रेष्ठले पनि प्रशिक्षार्थीहरुलाई प्रशिक्षण गराएका थिए । तालिममा कैलाली,बैतडी,बुटबल,पाप्ला र कामाण्डौंका गरी ४२ जनाको सहभागीता रहेको थियो ।

एन्फाका मुख्य प्रशिक्षक सञ्जित सिंहले देशभरीका फुटबल संघहरु मध्ये कैलाली जस्तो जुझारु टिम र केहि न केहि गरौं भन्ने हुटहुटी आफूले अन्त नपाएको बताए । उनले फुटबलका गतिविधिले होस् वा,आतिथ्यता अथवा व्यवस्थापनका हिसाबले पनि अखिल नेपाल फुटबल संघ एन्फा भन्दा उत्कृष्ट कैलालीमा देखेको बताए ।

समापन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव लोक बहादुर खड्काले गतिविधिका हिसबबले कैलाली जिल्ला फुटबल संघ प्रदेशकै संघहरु मध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने संघ भएको बताएका छन ।

सदस्य सचिव खड्काले कैलाली जिल्लाले व्यवस्थापनका हिसाबले पनि उत्कृष्ट भएको भन्दै अब छिट्टै एक ठूलो फुटबल प्रतियोगीता कैलाली जिल्ला फुटबल संघले आयोजना गर्नुपर्ने र त्यसका लागि आवश्यक सहयोग र सहकार्य गर्न सुदूरपश्चिम खेलकुद परिषद तयार रहेको बताए ।

अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लको अध्यक्षतामा सम्पन्न उक्त समापन समारोहमा सुदूरपश्चिम फुटबल संघका उपाध्यक्ष बिनोद बिष्ट,कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष ब्रिकम बिष्ट,पूर्व राष्ट्रिय खेलाडी शंकर श्रेष्ठ,कैलाली जिल्ला फुटबल संघका पदाधिकारीहरु लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

समापन समारोहको सञ्चालन कैलाली जिल्ला फुटबल संघका महासचिव ललित मिश्रले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?