ग्रामीण क्षेत्रमा लुकेर रहेका खेल प्रतिभाको पहिचान तथा खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कैलालीको धनगढी उपमहानगरपालिका–१० जुगेडामा निसर्ग इन्डो–नेपाल जुगेडा कप–२०८३ भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
प्रतियोगितामा नेपाल तथा भारतका राष्ट्रियस्तरका र अनुभवी खेलाडीसमेत सहभागी हुने भएकाले प्रतिस्पर्धा रोमाञ्चक हुने आयोजकको अपेक्षा छ। प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ।

प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले १ लाख रुपैयाँ, मेडल र प्रमाणपत्र पाउनेछ। यस्तै, सेमिफाइनलमा पराजित हुने दुवै टोलीलाई २०–२० हजार रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार जुगेडा कपलाई केवल भलिबल प्रतियोगितामा सीमित नराखी ग्रामीण क्षेत्रका खेल प्रतिभालाई अवसर दिने मञ्चका रूपमा विकास गर्ने प्रयास गरिएको छ। खेलकुदसँगै स्थानीय कला, संस्कृति र पर्यटनलाई जोडेर जुगेडा क्षेत्रलाई खेल तथा सांस्कृतिक गतिविधिको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
विशेषगरी रानाथारू कला, भाषा, संस्कृति र परम्पराको प्रवर्द्धनलाई समेत प्रतियोगितासँग जोडिएको आयोजकको भनाइ छ। प्रतियोगिताले नेपाल–भारत सीमावर्ती क्षेत्रका खेलाडीबीच मैत्रीपूर्ण सम्बन्ध र सांस्कृतिक आदानप्रदानमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतियोगिताको टाइटल स्पोन्सर निसर्ग हस्पिटल, मुख्य प्रायोजक केयर टेकर हस्पिटल रहेका छन् भने धनगढी उपमहानगरपालिका–१० नम्बर वडा कार्यालय मुख्य प्रवर्द्धक रहेको आयोजकले जनाएको छ।
आयोजकले ग्रामीण क्षेत्रमा निरन्तर आयोजना भइरहेका खेलकुद गतिविधिलाई प्रदेश तथा संघीय सरकारले आवश्यक सहयोग र प्रवर्द्धन गर्नुपर्नेमा समेत जोड दिएको छ। जुगेडा कपमार्फत स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने दीर्घकालीन लक्ष्य रहेको आयोजकको भनाइ छ।
संयुक्त राना जनचेतना परिवारको आयोजनामा हुने प्रतियोगिता असोज २० देखि २४ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपाल र भारतका गरी ८ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?