ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप २०२६’ को सम्पूर्ण तयारी पूरा

१६ असोज २०८३, शुक्रबार, धनगढी । ब्ल्याक स्टोन फिटनेस धनगढीको आयोजनामा हुन लागेको ‘ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ।

आगामी असोज १७ गते शनिबार अर्थात् ३ अक्टोबर २०२६ मा बिहान ८ बजेदेखी  धनगढीस्थित सिद्धार्थ कटेजमा आयोजना हुने राष्ट्रियस्तरको प्रतियोगिताको पूर्वसन्ध्यामा शुक्रबार आयोजित कार्यक्रममा आयोजकले प्रतियोगिताका मेडल तथा ट्रफी सार्वजनिक गर्नुका साथै तयारीको अन्तिम अवस्थाबारे जानकारी दिएको हो।

ब्ल्याक स्टोन फिटनेसले गत साउन १५ गते पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको औपचारिक घोषणा गर्दै मिति, प्रतिस्पर्धाका विधा, पुरस्कार व्यवस्था तथा प्रतियोगिताको उद्देश्य सार्वजनिक गरेको थियो।आयोजक संस्था ब्ल्याक स्टोन फिटनेसका सञ्चालक तथा प्रतियोगिता संयोजक ज्ञानेन्द्र राज पाण्डेका अनुसार खेलाडी व्यवस्थापन, प्रतियोगिता स्थल, प्राविधिक जनशक्ति, निर्णायक, पुरस्कार, मेडल तथा ट्रफीलगायत आवश्यक तयारी पूरा गरिएको छ।प्रतियोगितामा देश भरीका विभिन्न जिल्लाबाट ३३ पुरुष र १५ जना महीला खेलाडी गरी कुल ४८ जना खेलाडी सहभागी हुँदैछन्।

 

प्रतियोगिता वर्ल्ड पावरलिफ्टिङको नियम तथा मापदण्ड अनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा खुला पुरुष, खुला महिला, पुरुष मास्टर्स तथा पुरुष जुनियर्स विधामा प्रतिस्पर्धा हुनेछ।खुला पुरुषतर्फ ६२ केजीभन्दा मुनि, ६२ देखि ६९ केजी, ६९ देखि ७७ केजी, ७७ देखि ८५ केजी, ८५ देखि ९४ केजी र ९४ केजीभन्दा माथि गरी छ तौल समूह रहनेछन् ।

खुला महिलातर्फ ५३ केजीभन्दा मुनि, ५३ देखि ५८ केजी, ५८ देखि ६४ केजी र ६४ केजीभन्दा माथि गरी चार तौल समूह राखिएका छन् ।४० वर्षभन्दा माथिका खेलाडीका लागि पुरुष मास्टर्स तथा २३ वर्षभन्दा मुनिका खेलाडीका लागि पुरुष जुनियर्स विधा रहनेछ । यसरी तौल तथा उमेर समूह गरी प्रतियोगितामा कुल १२ प्रतिस्पर्धात्मक समूह रहनेछन्।

खुला पुरुष तथा महिला तौल समूहका प्रत्येक विधामा प्रथम हुने खेलाडीले ३० हजार, द्वितीयले १५ हजार तथा तृतीय हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

पुरुष मास्टर्स तथा पुरुष जुनियर्स विधाका समग्र स्वर्ण, रजत र कांस्य पदक विजेताले पनि क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।यसैगरी प्रतियोगिताका समग्र पुरुष तथा समग्र महिला विजेतालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

विजेता खेलाडीलाई नगद पुरस्कारसँगै पदक, ट्रफी तथा उपहार सामग्री प्रदान गरिनेछ भने सहभागी खेलाडीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।नगद पुरस्कार, पदक तथा उपहार सामग्रीसहित प्रतियोगिताको कुल पुरस्कार राशि १५ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा नेपाली फिटनेस तथा पावरलिफ्टिङ क्षेत्रका अनुभवी व्यक्तित्व पावरलिफ्टिङ विश्व च्याम्पियन (२०२५) र पूर्व मिष्टर हिमालय उपविजेता सुकदेव कार्कीको समेत विशेष उपस्थिति रहेको थियाे ।

कार्कीले कार्यक्रममा नेपालमा पावरलिफ्टिङको विकासक्रम, नेपाली खेलाडीका सम्भावना, युवा पुस्ताका लागि पावरलिफ्टिङ तथा फिटनेसको महत्व, खेल विज्ञान, अनुशासन र स्वस्थ जीवनशैली लगायतका विषयमा आफ्ना अनुभव तथा धारणा प्रस्तुत गरे ।

कार्की गम्भीर दुर्घटनापछि पुनः खेलकुदमा फर्किएका पावरलिफ्टिङ खेलाडी तथा प्रशिक्षक हुन्। उनी एनवाइएफसी नेपालका संस्थापक समेत हुन् र फिटनेससँगै मानसिक स्वास्थ्य तथा सामाजिक सचेतनाका विभिन्न अभियानमा संलग्न रहँदै आएका छन्।

प्रतियोगिता संयोजक पाण्डेले पावरलिफ्टिङलाई केवल तौल उठाउने प्रतिस्पर्धाका रूपमा नभई अनुशासन, शारीरिक स्वास्थ्य, मानसिक दृढता र सकारात्मक जीवनशैलीसँग जोडेर विकास गर्नुपर्ने बताए।

“हाम्रो उद्देश्य एउटा प्रतियोगिता गरेर सक्नु मात्र होइन,” पाण्डेले भने, “सुदूरपश्चिमबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने वातावरण बनाउने, देशभरका खेलाडीलाई एउटै मञ्चमा जोड्ने र नयाँ पुस्तालाई व्यायाम तथा खेलकुदतर्फ आकर्षित गर्ने दीर्घकालीन प्रयास हो।”

उनले स्वस्थ शरीरसँगै अनुशासित जीवनशैली निर्माणमा नियमित व्यायामको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै विशेषगरी युवालाई लागूऔषध तथा अन्य हानिकारक कुलतबाट टाढा राख्न खेलकुदको सकारात्मक संस्कृतिलाई विस्तार गर्नुपर्ने बताए।

ब्ल्याक स्टोन फिटनेसले अघिल्लो वर्ष सुदूरपश्चिममा ‘ब्ल्याक स्टोन क्लासिक पावरलिफ्टिङ प्रतियोगिता, फारवेस्ट्स स्ट्रङ्गेस्ट म्यान एन्ड वुमन’ आयोजना गरेको थियो। उक्त प्रतियोगिताबाट प्राप्त अनुभवका आधारमा यस वर्ष राष्ट्रियस्तरको प्रतियोगितालाई थप व्यवस्थित तथा प्राविधिक रूपमा स्तरीय बनाइएको आयोजकले जनाएको छ।

आयोजकले देशभरबाट प्रतियोगितामा सहभागी हुन धनगढी आएका खेलाडी, प्रशिक्षक, निर्णायक, सहयोगी संस्था, प्रायोजक, सञ्चारमाध्यम तथा खेलप्रेमीलाई धन्यवाद व्यक्त गर्दै प्रतियोगिता सफल बनाउन सहयोगका लागि आग्रह गरेको छ।

यस प्रतियोगीतको प्रायोजकमा कृषि विकास वै‌क, ब्रेडबक्स, असोक फिटनेस, फ्रुट बक्स, ग्लोबल सर्जिकल, सुनाखरी रेस्टुरेन्ट, पब्लिक हेल्थ केयर फार्मेसी, होटल जियान हस्पिटालिटी, धनगढी सन, केभी, तरकारी तथा फलफूल पसल, लाइफ केयर डायग्नोस्टिक, वेस्टर्न फार्मेसी, स्ट्रिम आर्किटेक्चर, किसान ट्रेडिङ, न्यु डायमण्ड सर्जिकल, छेदुलाल चौधरी, एसएस कलेक्सन तथा फेसन वेयर, नवल अटो, सिपि अस्पताल, पुष्पञ्जलि हार्डवेयर, कर्नाली रिभरसाइड, कश्मी क्लोथिङ, ज्योति झा, केदारी बिजुली, मेङ्गो रिसोर्ट, एरीस्टो स्कुल, बेस मार्क, थ्री स्टार स्कुल, केदार फर्निसिङ हाउस र आलोक मल्टि कन्सर्न फर्निचर, निशर्ग हस्पिटल, म्याक्स टाइगर इनर्जी ड्रीङ्क, सानदार एग्रो फुड, जीवन साइन एण्ड प्रिन्ट, निहारीका मोबाइल सप र मायामेट्रो हस्पीटल रहेका छन् ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top